आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् : बाबुराम भट्टराई



नेपालगञ्ज, १४ चैत

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीवीचको एकतालाई प्रचण्डको राजनीतिक आत्महत्याको संज्ञा दिएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले आफुले ‘आत्महत्या’ गर्न नसक्ने पनि बताएका छन् ।
उनले आफूले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर, एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको बताए । उनले दुई पार्टीको एकतालाई ‘आत्महत्या’को संज्ञा दिए ।
‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’ उनले प्रचण्डले पटकपटक माओवादीमा फर्किन गरेको आग्रहलाई संकेत गर्दै व्यङ्ग्यात्मक रुपमा भने – ‘आत्महत्या नै गर्नु छ त आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ, मैले बुझ्न सकिरहेको छैन । उहाँले नसकेर हो वा मलाई पनिसँग लैजानुपर्छ भनेर हो मलाई बोलाइरहनुभएको छ, खै किन हो मलाई थाहा छैन ?’
नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् । उनले सोमबार गर्दै यस्तो बताएका हुन् । प्रचण्डले एकतामा आउन आव्हान गरिरहेका बेला बाबुरामको यस्तो जवाफ आएको हो ।

अहिले नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग ध्रुवीकरणमा नजाने स्पष्ट पार्दै उनलेभने –‘हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन । बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ । तर, पानीमा मिसिन जान सकिँदैन ।’

त्यस्ते संयोजक भट्टराईले सीमांकनका आधारमा प्रदेश ५ उँट जस्तो बनेको बताउनुभएको छ । प्रदेश ५ को संरचना उँटको जस्तो भएकोले यो लामो समय यथास्वरुपमा रहनेमा आशंका गरे ।

उनले संघीयताले तल्लो तहसम्म राजनीतिक अधिकार निक्षेपण गर्दै नागरिकको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने भएकोले पहिचान र सामथ्र्यलाई आधार बनाएर राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशहरुको सीमांकन गरिनु नै वस्तुवादी र वैज्ञानिक भएको ठहर गरे ।

संयोजक भट्टराईले राज्यको अवधारणा लोकतन्त्रसँगै गाँसिएर आउने भएकोले स्वतन्त्र, समानता र भातृत्वलाई लोकतन्त्रको आधार बनाइएकोमा यी तीनवटै अवयवहरुलाई सँगसँगै लिएर अघि बढ्नुपर्नेमा पूँजीवादले स्वतन्त्रताको मात्र वकालत गर्ने र पारम्परिक समाजवादले समानताको मात्रै कुरा गर्ने तर स्वतन्त्रतालाई छाड्ने गरेकाले अब लोकतन्त्रको सबै अवयवहरुलाई सँगसँगै लिएर जानका लागि तेस्रो वैकल्पिक राजनीतिक धारको आवश्यकता औंल्याए ।

त्यसका लागि सहभागितामुलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद नै अबको राजनीतिक गन्तव्य भएकोले नयाँ शक्तिले समुन्नत समाजवादसम्मको यात्राका लागि स्पष्ट रुपमा ‘५ स’को भिजन प्रस्तुत गरेको बताए ।

राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्ति पार्टीको जन्म भएको उल्लेख गर्दै संयोजक भट्टराईले भने– ‘संसार गतिमा छ, विचार र पार्टी पनि गतिमा हुन्छ, त्यसैले क्रान्ति कहिल्यै पूर्ण हुँदैन । अब हामीले एउटा क्रान्ति गर्नुपर्छ, विकास र समृद्धिको क्रान्ति ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का ईन्चार्ज नवराज सुवेदीले नयाँ शक्ति पार्टीले लिएको वैकल्पिक राजनीतिक धारलाई आम जनमानसमा पुर्याउन विगतमा भएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यस्तै प्रदेश ५ का संयोजक दान बहादुर चौधरीले संगठन नै पार्टीको दरिलो आधार भएकोले संगठन निर्माणमा दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका ईन्चार्ज सरुण बाँठामगरले नयाँ शक्तिले नै यो देशलाई निकासतर्फ लैजाने बताउनुभयो । प्रदेश ७ का ईन्चार्ज कृष्ण कुमार चौधरीले नयाँ शक्तिले वैकल्पिक राजनीतिक शक्ति बनाउने विषयमा लुम्बिनीमा गरेको संकल्पलाई जनतामाझ पुर्याएर संगठन बलियो र चुस्त बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममो संचालन पार्टीका कर्णाली प्रदेशका संयोजक राम बहादुर साउदले गर्नुभएको थियो भने अध्यक्षता प्रदेश ५ का ईन्चार्ज नवराज सुवेदीले गरेका थिए ।

दुई दिनसम्म चल्ने बैठकमा १३ गते (मंगलबार) प्रदेशको छुट्टाछुट्टै बैठक बसी प्रदेश कमिटी गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँडलगायतका निर्णयहरु गर्नेछ । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी सुशिल ज्ञवाली, माधुरी ज्ञवाली, लीला आचार्य, जगतनाथ अर्याल, जित बहादुर सिजापतीलगायतका स्थानीय नेताहरु नयाँ शक्तिमा प्रवेश गरे । नवप्रवेशीहरुलाई संयोजक डा. बाबुराम भट्टराईले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्