प्रधानमन्त्री ओलीले कुटनीतिज्ञलाई बालुवाटारमा बोलाएर के भने ?



काठमाडौँ, १३ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई बालुवाटार बोलाएर सरकारको प्रथामिकता र विदेश नीतिबारे ‘बिफ्रिङ’ दिएका छन् । ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पार्दै नेपालका नागरिक कसैका गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने हाम्रो चाहना रहेको बताए ।

प्रधानमन्त्री निवासमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि गुह्य कार्यसूचीबाट नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर तिनलाई नेपाली जनताको भलाईका निम्ति परास्त गरिने प्रतिबद्धता बताए । भने, ‘हाम्रा नागरिक कसैका गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने हाम्रो चाहना छ, हामीलाई विभाजित पार्न खोज्ने र अस्थिरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं ।’

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्देशित रहेको उनले स्पष्ट पारे । स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको उनको भनाई छ ।

उनले सरकार ६ वटा आधारभूत विषयबाट निर्दे्शित रहने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा आफ्नो सरकारका मुख्य आधारस्तम्भ रहेको राजदूतहरूलाइ सुनाए। नेपालको विदेश नीति पञ्चशील, असंलग्नता, राष्ट्रसंघीय बडापत्र, अन्तराष्ट्रिय कानुन तथा विश्व शान्तिका मूल्य मान्यताबाट निर्दे्शित रहने ओलीको भनाइ थियो ।

कहिल्यै बाह्य शाक्तिको नियन्त्रणमा रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भएको उनले बताए । समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पारे । भने, ‘विधिको शासन राज्य सञ्चालनको केन्द्रमा रहने छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो ।’ – नयाँपेज

प्रतिक्रिया दिनुहोस्