बराबर नभए एकता नै हुँदैन : प्रचण्ड



काठमाडौं, १३ चैत

काठमाडौँ– नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् ।

आज विद्यार्थी संगठनका नेताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले एक जना पनि कम भएर एकता नहुने बताए ।

‘संगठन पार्टी एकताको एक पेचिलो प्रश्न हो । यसमा केही गलत समाचार बाहिर आएका छन् । कुरा स्पष्ट के छ भने संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन’, प्रशिक्षणमा प्रचण्डले भने ।

यस अघि माओवादीको ९९ र एमाले २०६ जनालाई समेटेर ३५० जनासम्मको केन्द्रीय समिति, १ सयको आसपासमा पोलिटव्यूरो र ३५ जनाको स्थायी समिति बनाउने गरी छलफल चलेको समाचार आएको थियो । यही समाचारलाई लिएर प्रचण्डले आज फिप्टी फिप्टीको सुत्र अगाडि सारेका हुन् ।

प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको पनि दावी गरेका छन् ।

सो प्रशिक्षणमा प्रचण्डले दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको पनि सुनाएका छन् ।

‘महाविधेशनसम्म दुवै पार्टीका अध्यक्ष नै अध्यक्ष रहने र आलोपालो बैठकको नेतृत्व गर्ने सिद्धान्त बनाइएको छ’, प्रचण्डले भने ।

प्रचण्डले हतारमा एकता नहुने पनि बताएका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा भैरहदा प्रचण्डले सवै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने बताएका हुन् । यस अघि दुई पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्