ऋचा शर्माको चलचित्र ‘सुनकेशरी’ को प्रचारमा दीपकराज गिरी र प्रियंका कार्की



कलाकार निर्माता दीपकराज गिरीले नायिका ऋचा शर्माको चलचित्र ‘सुनकेशरी’ को प्रचार थालेका छन् । दीपकले आइतबार शर्माको मुख्य भूमिका रहेको हरर सिनेमा ‘सुनकेशरी’ को युट्युबमा राखिएको ट्रेलर सामाजिक सञ्जाल फेसबुकम सेयर गरेका हुन् ।

दीपकसँगै नायिका प्रियंका कार्कीले पनि ‘सुनकेशरी’ को टे«लर सेयर गरेकी छन् । दीपक र प्रियंकाको यो कार्यलाई विगतमा भएको तिक्तता मेटाउने प्रयासका रूपमा आमचलचित्रकर्मीले विश्लेषण गरेका छन् ।

‘छक्का पञ्जा’ मा महिलामाथि विभेद गरिएको, हिंसा गरिएको भन्दै ऋचा शर्माले चलचित्र युनिटकै आलोचना गरेको भनी समाचार आएपछि दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की उनीसँग रिसाएका थिए । कतिसम्म भने सो विषयले नेपाली चलचित्र क्षेत्र नै दुई धारमा बाँडिएको थियो । पछि सबै तथ्य खुलेपछि घटना सेलाएको थियो ।

ती पुराना कुरालाई बिर्सेर दीपकराजले ‘सुनकेशरी’ को ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘सबै प्रकारको फिल्म बन्नु पर्छ । सबै प्रकारको नेपाली फिल्म चल्नु पर्छ । आफ्नो फिल्म चल्दा मात्रै होइन, अरूको फिल्ममा पनि ताली बज्नुपर्छ । ऋचा शर्माको ‘सुनकेशरी’ ट्रेलर !!!’

करोड बढी लागतमा बनेको ‘सुनकेशरी’ मा ऋचाले पहिलोपल्ट भूत भएर अभिनय गरेकी छन् । चलचित्रको ट्रेलर नै डरलाग्दो बनेको छ । चलचित्रको निर्देशक अर्पण थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्