दमकलले वनको डडेलो नियन्त्रण गराउंदै : कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ



१३ चैत्र २०७४

उदयपुर,

ट्रिन ट्रिन

सोमबार दिउसो करिव २ बजे तिर कटारी नगरपालिका प्रमुखको कार्यालयमा टेलीफोनको घण्टी बज्यो ।

हेलो ! मेयर साप,

‘कटारी नगरपालिकाको वडा नम्बर २ सिद्दिचरण राजमार्ग नजिक सीतापोखरी सामुदायिक वनमा डढेलो लागेको छ, वन कार्यालयमा खबर गरें, कसैले फोन उठाएनन्, लौ न केही गरिदिनु पर्यो !  तिब्र गतिमा हावा चलेको कारण आगो बस्तीमा पस्ने खतरा छ ।’ फोन गर्ने व्यक्तिले आंतिदै स्वरमा मेयरलाई भने ।

मेयर ज्ञानेन्द्र श्रेष्ठले विस्तृत रुपमा समस्या सुने र भने ‘तपाई ढुक्क हुनुहोस्, ५ मिनेट भित्र डढेलो लागेको स्थानमा दमकल आईपुग्छ ।’

फोनको रिसिभर टेवलमा राख्न नपाउदै मेयर श्रेष्ठले अर्को हातले टेवल घण्टी बजाए, मेयर श्रेष्ठको कार्यकक्षमा कार्यालय सहयोगी हाजिर भयो र कार्यालय सहयोगीलाई भने ‘दमकल चालकलाई तुरुन्त यहाँ बोलाउनु, २ नम्बर वडामा आगो लाग्यो रे !’

तत्काल दमकल चालक आएपछी मेयर श्रेष्ठले भने ‘गुरु २ नम्बर वडको सीतापोखरी वनमा आगो लागेको छ रे, तुरुन्त निभाउन जानुपर्यो ’

मेयरको कुरा नसकिदै चालक हुन्छ भनी गई हाले’ । केहि मिनेटमा नै नगरपालिका परिसरमा रहेको दमकलको साईरन बज्यो । दमकलका चालक सहयोगी सहित तिब्र गतीमा साईरन बजाउदै हुईकिए ।

दमकल हुईकिएको केही समय पछि कटारीका स्थानीय संचारकर्मी अभिमन्यु लामिछानेले फेसवुकमा दमकलले आगो निभाउदै गरेको फोटो सहित स्टाटस लेखे –‘कटारी नगरपालिका २ नम्बर वडाको सितापोखरी सामुदायिक वनमा डढेलोले वन सखाप पारेको छ, वनका कर्मचारीलाई फोन गर्दा उहाँहरुको फोन उठदैन, तत्काल कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई आगलागीले वन सखाप भएको र गाउँ नजिकै डढेलो आइसकेको, हावाहुरीको कारण डढेलो नियन्त्रण गर्न नसकेको बताएपछि मेयरले तत्काल दमकल पठाएर आगो नियन्त्रण भयो । सितापोखरी सामुदायिक वनका आमउपभोक्ताहरु मेयर ज्ञानेन्द्र श्रेष्ठलाई आपतकालीन सहयोगको लागि धन्यवाद भन्न चाहन्छन ।’

कर्मचारीतन्त्रमा हिजोको धङ्धंगी देखियो   

परिवर्तनकर्मी ध्रुवप्रसाद घिमिरेसँग टेलिफोन संवादमा नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वन कर्मचारी माथि कुटपिट तथा दुर्व्यवहार गराएको हल्ला झुटो भएको बताए । हामी जनताको सेवामा दिनरात खटिरहेका छौं । आगलागीको समय भएकोले वन कार्यालयसँग सहकार्य गरेर एकीकृत योजना बनाउने प्रयासमा छौं ।

वन कर्मचारीलाई दुर्व्यवहार गरेको बारेमा बुझ्न खोज्दा प्रमुखले भने ‘कटारी नगरपालिकाको ४० लाख बजेटमा वडा नं. १ मा सडक ट्रयाकको स्तरोन्नतिको काम गर्दै गर्दा वन कार्यालयले बिना जानकारी निर्माणमा कार्यरत मजदुरलाई नियन्त्रण लिई प्रहरीलाई बुझाएपछि जनप्रतिनिधिको टोली वन कार्यालयका कर्मचारीसँग बुझ्न जाँदा सामान्य विवाद भएको जानकारीमा पाएको छु ।’

जननिर्वाचित प्रतिनिधिहरु आएपछि उनीहरुसँग समन्वय र सहकार्य गर्नुपर्नेमा पुरानै पाराले एकल निर्णय गर्दा केहि अप्ठ्यारो भएको हुनसक्छ । अनियन्त्रित आगोले वन सखाप भै गाउँ जल्न लाग्दा पनि वास्ता नगर्ने कर्मचारी विकासको काममा अवरोध गर्ने नियतले सडक निर्माणमा खटिरहेको मजदुरलाई पक्राउनु कत्तिसम्म जायज हो ? वनजंगलको सुरक्षा साथै आम नागरिकको सरोकारलाई सम्बोधन गरी आफ्नो दायित्व वहन गरिरहेको दावी समेत नगर प्रमुख श्रेष्ठले गरे ।

दुर्व्यवहार तथा पिटाई खाएको भनिएका सेक्टर वन कार्यालय कटारीका उप सचिव नारायण श्रेष्ठसँग सम्पर्क गर्दा दुर्व्यवहार मात्र नभई ढाडमा लात्तीले समेत हानेर जाँचबुझ गर्न र पिटेको प्रमाण लिन गाईघाट हस्पिटल आएको बताए ।

पटक-पटक सुझाव दिँदा पनि वास्ता नगरी सरकारी वन नाश गरी बाटो बनाएको हुनाले मैले आफ्नो अधिकार प्रयोग गरी कार्वाही गरेको हुँ । अधिकार क्षेत्र भित्रको काम गर्दा मेयर वा जनप्रतिनिधिहरुलाई सोध्नु आवश्यक नरहेको समेत उपसचिव श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्