
प्यूठान : झिमरुक गाउँपालिका-४ टिमिलडाँडाका अठार महिने निश्चल केसी जन्मिँदा स्वस्थ थिए। जन्मिएको महिना नपुग्दै उनी बिरामी भए। रातभर नसुत्ने र धेरै रुन थालेपछि आमा सीता केसीले उपचारका लागि जिल्ला अस्पताल विजुवार पुर्याइन। तर, उनलाई निको भएन।
निश्चल न बोल्छन् नत हास्छन्। सिधा हुनै सक्दैनन्। ठाडो बनाएर राख्दा टाउको झुकाइहाल्छन्। पेटको दायाँबायाँ हड्डी निस्किएको छ। खाना जबरजस्ती खुवाउनुपर्छ। पुरै शरीर ‘लुलो’ भइसकेको छ। अहिल्यसम्म उनलाई के रोग लागेको पत्ता हुनसकेको छैन्।
आमा सीतालाई पीडामाथि पीडा थपिएको छ। जिल्ला अस्पतालमा उपचार गराए पनि निको नभएपछि उनले थप उपचारका लागि बुटवल लगिन्। त्यहाँ पनि उनको उपचार हुन सकेन्। काठमाडौँ लैजान चिकित्सकले सल्लाह दिए। बुटवल लैजादा साथमा भएको पाँच हजार सकियो। थप उपचार गराउन असम्भव भएपछि उनी घर फर्केकी छन्।
दुई दाइमुनिका उनी कान्छो भाइ हुन्। जेठो दाइ किसन र माइलो मिसन केसी स्वस्थ छन्। कान्छो छोरा जन्मिदा बुवा÷आमा निकै खुसी थिए। छोरा जन्मिए लगत्तै बुवा लक्ष्मण केसी रोजगारीका लागि भारत गए।
धन कमाउन मुग्लान पसेका सीताका श्रीमान् अहिले बेखवर छन्। सीताले घर परिवारबाट अलग बस्दै आएकोे १४ वर्ष भइसक्यो। साहारा दिने कोही छैनन्। घरखर्च धान्नै कठिन भएपछि सात कक्षामा पढ्दै गरेका जेठो छोरा किसनलाई उनले होटलमा भाडा माझ्ने काममा लगाएकी छन्।
काम खोज्दै बुटवल गएपछि छोराले काम पाएको सीताले बताइन्। दुई महिनापछि फर्किएका छोराले दश हजार रुपैयाँ लिएर आउँदा उनलाई केही मिलेको छ। ‘दुइभाइ छोरा हुर्किदै गएका छन्,उनले भनिन्,’कान्छोलाई के रोग लाग्यो थाहै भएन्। उपचार गर्न पनि सकिएन्। न बाँच्नु नत मर्नु भएकी छुँ।’
काठमाडौँ लगेर उपचार गराउन चिकित्सले सल्लाह दिएको उनले बताइन्। ‘घरखर्च धान्न मुस्किल छ’,केसीले भनिन्,‘श्रीमान अझै फर्किनु भएको छैन। दिल्ली जाने भनेर घरबाट हिड्नुभएको हो। कसैले भेट्यौँ भन्दैनन्।’ श्रीमान्को साथ नपाएपछि धेरै समस्या आइलागेको उनले दुःखेसो पोखिन्।
माइतीघरले बेलाबेलामा दिएको खर्चले आफूहरुले साँझ बिहानको छाक टार्दै आएको समेत उनले बताइन।
घर बनाउँदा लागेको तीनलाख ऋणले सधैँ सताउने गरेको उनले दुःखेसो पोखिन्। अहिले उनले छोराको पालनपोषण र घरखर्च चलाउन बांगेफेदी बजार छेउमा चटपटे पसल खोलेकी छन्।
दिनभर चटपटे बेँचेपनि उनलाई साँझ खान पुग्ने पैसा जुट्दैन्। ‘महिनाको चारसय भाडा दिएर खोका लिएकी छु,केसीले भनिन्,‘जीवन धान्नै समस्या भयो। छोराको उपचार। घरको ऋण र छोरालाई पाल्ने कसरी होला ?’
छोराको उपचारका लागि धेरैसँग हारगुहार गरेपनि उनको पीडा समाधान हुन सकेको छैन। इष्टमित्रसँग जुटाएको दशहजार रुपैयाँ लगेर कान्ति बाल अस्पताल काठमाडौँमा छोराको उपचार गराउँदा त्यत्तिकै फर्कनुपरेको उनले सुनाइन।
‘हस्पिटलले सुरुमा पन्ध्र हजार जम्मा गरेर भर्ना गर्न भनेका थिए, उनले भनिन्,’पैसा नपुगेपछि फर्किएर आए।’ अठार महिनादेखि ओछ्यानमै छटपटिएर छोरा बाचिरहेको छ, उनले भनिन,कसैले आर्थिक सहयोग गरिदिए छोराको उपचार गर्थे।’ (अन्नपुर्ण पोस्ट)





