
काठमाडौँ — नयाँ मिडियाका रूपमा युटयबुको उचाइ बढिरहँदा यसका विकृति पनि सँगै हुर्किरहेका छन् । सर्ट फिल्मका नाममा अश्लील भिडियो बनाउने, द्विअर्थी अन्तर्वार्ता राख्ने आदि चलन छ ।
शुक्रबारबाट प्रदर्शनीमा आएको ‘शत्रु गते’ फिल्मले पनि युटयुबका विकृति देखाउन खोजेको छ ।
‘यो भिडियो भाइरल मात्र होइन, दाइरल नै हुन्छ,’ हरिवंश आचार्यले फिल्ममा बोलेको यो डाइलग व्यंग्यात्मक छ । युटयुबको कारण फिल्मले गति लिन्छ । यो नै फिल्मको मुख्य हतियार हो । शत्रु गतेले विद्यमान विकृतिभन्दा पनि सम्भावित विकृतिलाई औंल्याएको छ । यसमा राहु (ल) को भूमिका निभाएका दीपकराज गिरी आफ्नै छिमेकीहरूको निजी जीवन पछयाउन पुग्छन् । पापाराजी शैलीमा भिडियो खिचेर युटयुबमा अपलोड गर्छन् । हामीकहाँ यतिसम्म अलिक भएको छैन । तर, हुने छाँटकाँट देखिन थालेको छ । फिल्मले युटयुबका राम्रा/नराम्रा पक्ष समेट्न खोजेको छ ।
कमलपोखरीस्थित कुमारी हलको प्रिमियरमा फिल्ममा आबद्ध कलाकार उपस्थित थिए । हरिवंश आचार्य, राजाराम पौडेल, दीपाश्री निरौला, प्रियंका कार्की, मोहित आचार्यले पत्रकार र आगन्तुकसँगै बसेर फिल्म हेरे । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म हास्यव्यंग्यमा आधारित छ ।
काठमाडौं र तराईको सेटिङ यसमा देखिन्छ । कतिपय दृश्य महको पुरानो फिल्म ‘१५ गते’ बाट प्रभावित छन् । माथि उल्लेखित कलाकारबाहेक यसमा मदनकृष्ण श्रेष्ठ, रमेशरञ्जन झा, पल शाह, आँचल शर्मा, वसुन्धरा भुसाल, शिवहरि पौडेल लगायतको भूमिका छ । दीर्घ गुरुङले खिचेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । शत्रु गतेलाई मित्र गतेमा परिणत गर्ने कसरतको कथा पनि हो यो फिल्म । फिल्म शुक्रबारबाट देशभर रिलिज भएको छ । (कान्तिपुरबाट)





