
सुर्खेत, ११ चैत
तपाईं मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ ? ख्याल गर्नुस् यस्ता घरेलु मदिरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । हुन त मदिरा सेवन स्वास्थ्यका हिसावले हितकर होइन । घरेलु मदिरा उत्पादन गर्दा प्रयोग गरिने कच्चा पदार्थमा मिसाइने अखाद्य पदार्थ, कुहिएका कपडा, फोहर बारेका तथ्यहरु विभिन्न समयमा सार्वजनिक भएका छन् ।
मोजा, जुत्ता, पुराना कपडा लगायत घरेलु मदिरालाई कडा बनाउने नाममा मिसाइने गरेको फेला पर्ने गरेका छन् । तर सुर्खेतमा भने रक्सीलाई कडा बनाउने भन्दै मुसा मिसाइएको फेला परेको छ । जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मुसा कुहाएरको बनाएको मदिना नियन्त्रणमा लिएको छ ।

लाटीकोइलीदेखि तातापानी जाने बाटोमा रहेका तीन ओटा घरमा जिल्ला प्रहरी कार्यालयले खानतलासी गर्दा घरेलु मदिरामा मुसा कुहाउने गरिएको तथ्य खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बरामद गरिएको घरेलु मदिरामा मुसा कुहाइएको पाइएको छ भने साङला, अन्य मासुहरु समेत कच्चा मदिरामा मिसावट गरिएको बताए ।
उनका अनुसार मदिरामा कुहिएका कपडाहरु प्रयोग गर्ने गरिएको यसअघि पनि सार्वजनिक भएको थियो । मदिरालाई ‘कडक’ बनाउन मुसा मिसाइएको हुनसक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मात्रै तीन ओटा घरबाट करिब २ सय लिटर पक्की र ३५० लि. कच्चा मदिरा बरामद गरेको हो ।

नागरिकको स्वाथ्यमाथि खेलवाड गर्ने गरी मुसा कुहाएर मदिरा उत्पादन गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्न सर्वसाधारणले माग गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक भानु अधिकारीले सुर्तिजन्य र मदिराजन्य पर्दाथ सेवन गर्न रोक्ने ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुको साटो सरकार सुस्ताएको आरोप लगाए ।
उनले घरेलु मदिराका कारण भारतको मुम्बइमा सयौं जनाको ज्यान गएको स्मरण गराउँदै त्यसो हुन नदिन स्थानीय प्रशासन थप कडाईका साथ लाग्नुपर्नेमा जोड दिए । तर स्थानीय प्रशासनले मात्रै नियन्त्रण गर्न गाह्रो रहेको बताउँदै उनले सवै सचेत हुनुपर्ने बताए ।





