कांग्रेस बैठकको दोस्रो दिन : नेतृत्वलाई खुइल्याउने र जोगाउने प्रतिस्पर्धा



११ चैत्र २०७४

काठमाण्डौ, कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।
स्थानीय तह, प्रदेशदेखि केन्द्रको निर्वाचनमा पार्टी कमजोर बन्नुमा सभापतिको विधानविपरीतका काम, कमजोर रणनीति, सरकार सञ्चालन गर्दा भएको कमजोरीलाई असन्तुष्ट पक्षले कारण देखाएको छ । तर, हरेक निर्णयमा साक्षी बनेकाहरू नै अहिले नेतृत्वलाई दोष दिन अग्रसर देखिएको भन्दै संस्थापन पक्षका नेताहरूले प्रतिवाद गरेका छन् । शनिबार आठ केन्द्रीय सदस्यले धारणा राखे ।

कसले के भने ?

झगडा बैठकमै गरौँ : हरि नेपाल
पार्टीले हारेको छ, हारको दोष सभापतिलाई मात्रै नदिऊँ । हामी सबैबाट गल्ती भएका छन् । सबैले गल्ती स्विकार्दै आफूभित्रै सच्चिएर जाँदा राम्रो बन्न सक्छौँ । असन्तुष्टि व्यक्त गर्ने, झगडा गर्ने, तर्क र विवाद गर्ने, पार्टीको फोरममै गरौँ । बाहिर गएर एकले अर्कालाई दोष देखाएर पार्टी कमजोर नबनाऔँ । झगडा गरौँ, तर भित्रै गरौँ । यो बैठकबाट निस्कँदा तुस बाँकी नराखौँ ।

दोषी सभापति नै हो : नवीन्द्रराज जोशी
निर्वाचनअघि गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड खारेज गरेर विधानसम्मत अर्को समिति बनाऔँ । विधानसम्मत पार्टी चलाउने भए धेरै समस्या समाधान भएर जान्छन् । हाम्रा सभापति बाहिरकालाई मिलाउन सक्नुहुन्छ, तर पार्टीभित्र मिलाउन सक्नुहन्न किन ? तपाईंहरू पार्टीभित्रचाहिँ कहिले मिल्नुहुन्छ ? त्यसैले निर्वाचनमा पार्टी कमजोर बन्नुको दोष सभापतिलाई जान्छ ।

खोजेपछि दोषी भेटिन्छन् : दिलेन्द्र बडू
हामी निर्वाचनमा यसपटक धेरै कमजोर भयौँ । यो कमजोरीलाई हटाउन हामी कसरी पछि प¥यौँ भन्ने जान्न र बुझ्न आवश्यक छ । दोष खोजेपछि दोषी फेला पर्छन्, अनि दोष के–के हुन् ? कमजोरी केलाएर दोषी पत्ता लगाउन सकिन्छ । निर्वाचनमा वामहरूको मोर्चा बनेपछि हामीले पनि प्रभावकारी रूपमा लोकतान्त्रिक मोर्चा बनाउनुपथ्र्यो । तर, सकेनौँ ।

विधानसम्मत चलौँ : कल्याण गुरुङ
पार्टीमा आफ्ना स्वार्थ पूरा गराउन विधानविपरीत केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड बनाइयो । नेताहरू यही बोर्डमा आफ्ना मान्छे उम्मेदवार बन्दा साक्षी बस्नुभयो, तर विरोध जनाउनुभएन । अब यसरी विधानविपरीत गरिएका कामबाट पार्टी चल्न सक्दैन । यी दुवै समिति खारेज गरेर विधानसम्मत समिति बनाउनुपर्छ । यस्तै, टिकटका लागि सिफारिस नै नभएकालाई टिकट दिने तथा स्थानीय तहमा उम्मेदवार बनेकालाई र समानुपातिकमा सांसद बनिसकेकालाई दोहो¥याउने गल्तीले निर्वाचनमा हामीलाई नराम्रो धक्का लाग्यो । पार्टीले भन्दाभन्दै किन दोहो¥याएर टिकट दिइयो ? अब पनि विधि र पद्धति नमान्ने हो भने हामी सुध्रदैनौँ ।

वामलाई काउन्टर पुगेन : नरहरि आचार्य
निर्वाचनअघि हामीले पार्टीका सबै संरचनालाई चलायमान र पूर्णता दिनुपथ्र्यो, तर चुक्यौँ । वाम गठबन्धनलाई काउन्टर दिने रणनीति पनि बनाउन सकेनौँ । लोकतान्त्रिक गठबन्धन भन्यौँ, तर एक्लै निर्वाचनमा गयौँ र पराजित भयौँ । अब, बदलिँदो जमानामा पुरानै ढर्राले पार्टी चल्न सक्दैन । दीर्घकालीन कार्ययोजना ल्याउनुपर्छ । हामी यसपटक संसद्मा संख्यात्मक रूपले कम छौँ, तर सत्ता पक्षका गल्ती कमजोरीलाई केलाएर विकास समृद्धिको सहयोगी बनेर अगाडि बढ्नुपर्छ । कांग्रेसको समेत धेरै मिहिनेतमा खाका कोरिएको संघीयता कार्यान्वयनमा पार्टीले अग्रसरता लिनुपर्छ ।

किसुनजीलाई हराएदेखि अधोगति : वीरबहादुर बलायर
हामी इतिहासबाटै दोषी खोज्नतिर लाग्नुपर्छ । कांग्रेसमा आज शेरबहादुर देउवाजी सभापति हुँदा मात्र समस्या सुरु भएको होइन । जब हाम्रो पार्टीमा किसुनजी पार्टीभित्रैबाट अन्तर्घात हुँदा निर्वाचनमा पराजित हुनुभयो, त्यहीबेलादेखि कांग्रेसको अधोगति सुरु भएको हो । चुनावमा धेरै अन्तर्घात भए । त्यही अन्तर्घातले पार्टी कमजोर हुँदै आयो । यसलाई समाप्त नगरी कांग्रेस अगाडि जान सक्दैन । पार्टीभित्र कसको कति लगानी छ, को सिनियर, को जुनियर ? यो पनि छिनोफानो हुनुपर्छ । निर्णय प्रक्रियामा सबै साक्षी बस्ने, तर सभापतिको मात्रै गल्ती देखाउने प्रवृत्ति गलत हो । आफू अनुकूलको व्याख्या गर्दा तत्काल चोखिन त सकौँला । तर, पार्टीको हित हुँदैन । हारको जिम्मा सबैले लिएर पार्टीलाई सुधार्नुपर्छ ।

गुट, उपगुट र सुपगुटले बिगार्यो‍ : जीवनबहादुर शाही
गुट र उपगुटले मात्रै पार्टीलाई कमजोर बनाएन । सबैभन्दा ठूलो गुट त सभापतिकै भयो । वरिष्ठ नेताको उपगुट छँदै छ, अर्को सुपगुट अर्थात् सुपेरियर केन्द्रीय सदस्यहरूको गुट हुँदा कांग्रेस कमजोर बन्दै गएको छ । एकले अर्कालाई खुइल्याउन गुटको अभ्यास गरियो । गाउँमा जाँदा कांग्रेसका नेता आए भनेर कसैले भन्दैनन्, कुन गुटका आए भनेर छुट्याउँछन् । तर, हामी अवसर हेरेर गुटका कुरा गछौँ । निर्णयमा साक्षी बसेर दोष अर्कालाई मात्रै लगाउने परिपाटी पनि मौलायो । हिजो टिकट लिँदा संवैधानिक भएको संसदीय बोर्डलाई आज तिनै नेताहरूले विधानविपरीत काम भन्दै हुनुहुन्छ । गलत थियो भने हिजो किन विरोध गर्नुभएन ? किन खुरुखुरु टिकट लानुभयो ? आफू ओभानो बन्न आरोप मात्रै नलगाउनुस्, आफ्नो पनि गल्ती स्वीकार गर्नुस् ।

बिपीका छोरा मात्रै भएर पार्टी चल्दैन : गुरुराज घिमिरे
पार्टी पराजित हुनुमा सभापति, नेता, महामन्त्रीसहितका हामी धेरै नेताको कमजोरी छ । बिपीका छोरा मात्रै भएर पार्टी कसरी चल्छ ? सभापतिले पनि पार्टी कार्यालयमै आएर पार्टी सञ्चालन गर्नुपर्छ । महामन्त्रीले पनि म विपीको छोरा हुँ मात्रै भनेर कार्यालय नजाने, भेटघाट नगर्ने, देशभर चिठी नपठाउने जुन शैली देखाउनुभएको छ, अब यसरी हुँदैन । अलिअलि गर्नुभएको छ, तर यतिले पुग्दैन । अझै धेरै काम गर्नुपर्नेछ । कमजोरी नस्विकार्ने र अर्कालाई मात्रै दोष दिने हो भने हामी झन् हार्दै जानेछौँ । रियलाइजेसन र रिफर्म आवश्यक छ । कुनै बेला गणतन्त्रको कुरा गर्दा हामीलाई पागल भन्थे, आज त्यही गणतन्त्रका मालिक नेताहरू भएका छन् । किन टिकट पाइएन यसको कारण चाहियो ? साथै संसद्मा वामविरुद्ध कसरी लड्ने र पार्टी सुधारका लागि कस्तो कार्ययोजना ल्याउने बहसमा लागौँ ।

जब देउवाले प्रकाशमानलाई हकारे
मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा संयोजक कार्कीले पढेर सुनाउन नभ्याउँदै कांग्रेस बैठकमा लफडा सुरु भयो । सिंहबाहेक रामशरण महत, बलबहादुर केसीसहितका नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए ।

‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । नेता यादव सुशील कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ?’

लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने ?’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ?’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने आश्वासन सभापतिले दिएका छन् ।

२६ महिनापछि नरहरि बैठकमा
तत्कालीन सभापति सुशील कोइरालाको मृत शरीरमा श्रद्धाञ्जली दिन पुगेका नरहरि आचार्य २५ माघ ०७२ मा एक्सासि ढले । केही दिनसम्म होससमेत खुलेन । तर, विस्तारै उनको स्वास्थ्य सुध्रियो । त्यसपछि उनी पहिलोपटक पार्टीको बैठकमा शनिबार सहभागी भए । उनले पनि बैठकमा आफ्ना लिखित कुरा राखे ।

मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राख्दा सिंह रिसाए
यसअघि मर्यादाक्रम नमिल्दा पूर्वउपसभापति गोपालमान श्रेष्ठ केन्द्रीय समितिमा उपस्थित भए पनि उपस्थितिपुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले शनिबारबाट उनलाई पदाधिकारीको लहरमा राखेको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवपछि श्रेष्ठको कुर्सी राखिएको छ । उनलाई आफूभन्दा मर्यादाक्रममा अगाडि राखिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाए । आफू पनि उपसभापति भइसकेको भन्दै अगाडि हुनुपर्ने उनको माग छ । कांग्रेस फुटेका बेला प्रजातान्त्रिक कांग्रेसमा श्रेष्ठसँगै सिंह पनि उपसभापति थिए । तर, मर्यादाक्रममा श्रेष्ठ अगाडि थिए । पार्टी एकीकरणपछि पनि श्रेष्ठभन्दा सिंह पछाडि नै थिए । सुशील कोइराला सभापति भएपछि महामन्त्री भएका सिंह गोपालमानभन्दा अगाडि भए ।

यो क्रम १३औँ महाधिवेशनपछि पनि कायम हुन पुग्यो । वरिष्ठ र उपसभापति पनि भइसकेकाले अगाडि हुनुपर्ने उनको माग थियो । उनी बैठकमा उपस्थित भए पनि पछाडि राखिएको भन्दै उपस्थितिमा हस्ताक्षर गर्दैनथे । १३औँ महाधिवेशनलगत्तै श्रेष्ठलाई पदाधिकारीपछि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाभन्दा पछि सातौँ नम्बरमा राखिएको थियो । (नयाँपत्रिका)

प्रतिक्रिया दिनुहोस्