गायक यशकुमारको पीडा : मलाई देखेपछि रीताका आफन्तले मुन्टो बटारे



अन्तरजातीय बिहे गरेका गायक यशकुमारको पीडा पनि उस्तै छ । उनले काठमाडौंकी नेवार समुदायकी रीता शाहीसँग बिहे गरे । त्यसपछि रीतालाई माइती पक्षले बहिष्कार ग-यो । अन्तरजातीय बिहे गरेका कारण धेरैले सकस व्यहोरेका छन् । तिनैमध्ये समाजमा स्थापित भइसकेका, तर अन्तरजातीय बिहे गरेर पीडा खेपेका केही प्रतिनिधि जोडीको विषयमा गज्जबले सोधखोज गरेको छ ।

मलाई देखेपछि रीताका आफन्तले मुन्टो बटारे : गायक यशकुमार
सांगीतिक दुनियाँमा संघर्ष गर्र्दै गर्दा म एक दिन ज्ञानेश्वरस्थित एक स्कुलको वेलकम प्रोगाममा गीत गाउन गएको थिएँ । त्यही क्रममा रीता शाहीसँग पहिलोपटक भेट भयो । उनी त्यही विद्यालयमा अध्ययन गर्र्दै थिइन् । उनले मलाई त्यही वेलादेखि मनमा राखिसकेकी रहिछिन् । म त्यसवेला काठमाडौंमा भाडामा बस्थेँ । गीत गाउन बागबजारस्थित स्टुडियोमा जान्थेँ। रीताको घर र म जाने स्टुडियो नजिकै थियो । त्यहाँबाट उनको घर देखिन्थ्यो । यही क्रममा बिस्तारै हामी प्रेममा प-यौँ । भावना साटासाट गर्ने क्रममा हामी अन्ततः एक–अर्काविना बाँच्न सक्ने अवस्था भएन । र, हामीले विवाह गर्ने निर्णय ग-यौँ ।

र, सुरु भयो समस्या
निर्णय त ग-यौँ, तर जटिलता धेरै थिए । किनभने उनी काठमाडौंमा घर भएकी सम्पन्न परिवारकी छोरी थिइन् । म भर्खर गाउँबाट आएर संघर्ष गर्दै गरेको केटो । अर्को कुरा हाम्रो जात र संस्कृति पनि मिल्दैनथ्यो । जसले गर्दा उहाँका बुवाआमाले अनेक कारण देखाउँदै मसँग विवाह नगरिदिने निर्णय गरे । तर, हामीचाहिँ एक–अर्काविना बाँच्नै नसक्ने अवस्थामा पुगेका थियाैँ । अन्ततः उनले धनसम्पत्तिभन्दा पनि मसँगको साथलाई ठूलो कुरा ठानिन् ।

त्यसपछि हामी भाग्यौँ । यसरी भागेर केही समय बसेपछि उनको माइती पक्षले उनलाई खोसेर लैजानुभयो । जसलाई मैले आमाबुवाको सन्तानप्रतिको माया हो भन्ने सोचेँ । तर, उहाँहरूले छोरीलाई सम्हालेर राख्न सक्नुभएन । रीतामा मप्रतिको जुन माया थियो जसलाई उनले भुल्नै सकिनन् । उनले हात काट्ने, घरको कौसीबाट हाम फाल्न खोज्नेजस्ता कार्य गर्न थालेपछि उनका बुवाआमाले सम्हाल्न सक्नुभएन । त्यसपछि मलाई फोन गरेर ‘हामीले छोरीको मन जित्न सकेनौँ, छोरी दिएर पठाउँछौँ तपाईं आउनुस्’ भन्नुभयो । म गएँ । उहाँहरूले कानुनी प्रक्रिया गरेर मलाई छोरी पठाइदिनुभयो ।

त्यसपछि उनको माइतीसँगको बोलचाल बन्द भयो । रीता आमाबुवाको एक्ली छोरी भएकाले उनले आमाबुवालाई खुब माया गर्थिन् र आमाबुवाले पनि उनलाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँहरूलाई उनी भुल्न सक्दैनथिन् । मलाई त भन्दिनथिन्, तर उनलाई आमाबुवा र भाइहरूसँग भेट्न मन लागेको म बुझ्थँे । एक दिन उहाँहरूको मन फर्कन्छ भन्नेमा उनी थिइन् ।

त्यो एउटा आशा मात्र थियो । आमाबुवासँग बोलचाल नहुँदा मनभित्र पीडा त छँदै थियो । उनले संसारै नै म भनेर आएकी थिइन् । जसले गर्दा उनको आउने–जाने बाटाहरू सबै बन्द भए । त्यही एउटा कोठा नै हाम्रो संसार थियो । उनले तीन वर्ष त्यही कोठामा नै बिताइन् ।

मचाहिँ बागबजारस्थित स्टुडियोमा गइरहन्थेँ । स्टुडियोमा जाँदा उनको हजुरबुवा, काकाहरूसँग भेट हुन्थ्यो । उहाँहरूसँग भेट भएर आँखा जुधेपछि म हाँस्न खोज्थेँ, तर उहाँहरू मलाई देखेपछि मुन्टो बटार्नुहुन्थ्यो । यसरी उहाँहरूले मुन्टो बटारेको देख्दा मलाई पीडा हुन्थ्यो । मचाहिँ सम्बन्ध राम्रो भइदिए हुन्थ्यो भन्ने पक्षमा थिएँ ।

छोरा जन्मिएपछि…
०६० मा हाम्रो छोरा जन्मियो । छोरा जन्मिनुभन्दा अगाडि म चर्चामा आइसकेको थिएँ । जुन वेला मेरो फोटोहरू पत्रपत्रिकामा आउन थाले । म विदेशतिर घुम्न थालेपछि ससुराली पक्षलाई एकप्रकारको आशा पलायो । छोरा जन्मनुभन्दा केही समयअघि सासूआमासँग कुरा हुन थाल्यो । आमासँग कुरा हँुदा आमाछोरीको फोनमै रुवाबासी चल्थ्यो । यसरी रुवाबासी चल्दा म रीतालाई सम्झाउँथेँ । बिस्तारै मैले पनि सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै गएँ ।

समाजले पनि स्विकार्न थालिसकेको थियो । समाजले नै स्विकारिसकेपछि एउटा परिवारले अस्वीकार गर्ने कुरा भएन । त्यसपछि पहिलोपटक सासूआमा हाम्रो कोठामा आउनुभयो । जुनवेला हामी नयाँबजारमा बस्थ्यौँ । यसरी सासूआमा आएपछि बिस्तारै हाम्रो आउजाउ हुन सुरु भयो । उहाँहरूले पनि हामीलाई बोलाउन थाल्नुभयो । अनि हामीकहाँ पनि उहाँहरू आउन थाल्नुभयो । त्यसपछि सबै आफन्तले हामीलाई स्विकार्नुभयो । अहिले सम्बन्ध एकदमै राम्रो छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्