के प्रेममा यौन अपरिहार्य छ ?



काठमाडौं, ९ चैत

युवा पुस्ता उन्मुक्त बन्दैछ । हिजोआजका युवायुवतीहरू खुलेर बोल्न, खुलेर लेख्न, खुलेर आफ्ना कुरा साट्न हिचकिचाउँदैनन् । परम्परागत रूपमा गरिने प्रेमलाई आधुनिक पुस्ताले पुन:परिभाषित गरिसकेको छ । यो पुस्ता यौनप्रतिको संकीर्ण सोचबाट बाहिर आइसकेको छ । साप्ताहिकले युवा पुस्ताका केही प्रतिनिधि पात्रहरूसँग कुराकानी गरेको थियो, जसमा सहभागीहरूले प्रेम र यौनका विषयमा खुलेरै आफ्ना धारणा व्यक्त गरे । के प्रेममा यौन अपरिहार्य छ ? सहभागीहरूको विचार :

स्मिता थापा,
मोडल
(लामो हाँसो पछि…..) प्रेममा सेक्स आवश्यक छ । सम्बन्धमा जति माया आवश्यक हुन्छ, त्यति नै यौन पनि आवश्यक हुन्छ । मलाई लाग्छ, यो माया देखाउने, दर्साउने माध्यम पनि हो । हामी जसलाई माया गर्छाैं, जोसँग जीवन बिताउने योजनामा हुन्छौं, उसप्रति माया पनि दर्शाउनुपर्छ । त्यसमा यौनसम्बन्ध राख्दा फरक पर्दैन । मुखले मात्र माया गर्छु भनेर हुँदैन । व्यवहारमा पनि देखाउनुपर्छ । मायाबिनाको यौनसम्बन्ध फिक्का हुन्छ । जो मायामा पर्नुभएको छ, उहाँहरूलाई अवश्य नै यसको अनुभूति भएको हुनुपर्छ । कसैलाई प्रेम गरिन्छ, माया गरिन्छ भने दर्साउनुपर्छ, अन्यथा सम्बन्ध खल्लो हुन्छ । मलाई कसैले माया दर्साइरहोस् जस्तो लाग्छ । माया व्यक्त गरिरहोस्, केही न केही भनिरहोस् जस्तो लाग्छ । कसैप्रति माया छ भने भन्नुपर्छ, मनमा राखेर मात्र हुँदैन । म कसैलाई माया गर्छु भने त्यसलाई व्यक्त पनि गर्छु । प्रेम भएपछि यौनसम्बन्ध त आफैं हुन्छ । प्रेमसम्बन्ध पछिको यौनसम्बन्ध अझ प्रगाढ हुन्छ । त्यसरी सम्बन्ध राख्नु गलत पनि होइन । यसबाट एक–अर्कालाई अझ नजिकबाट बुझिन्छ, विश्वास बढ्छ । एक–अर्काको चाहना थाहा हुन्छ । अझ दुई जनाबीचको सम्बन्ध मीठो हुन्छ ।

सोनिका रोकाया,
युट्युबर तथा मोडल
हिजोआज प्रेमसम्बन्ध हुनेहरूले पनि बेग्लै यौन साथी बनाएका हुन्छन् । खासगरी डिभोर्सको कारण पनि त्यही हो जस्तो लाग्छ । मानिसहरूले जब यौनसम्बन्धमा नयाँ फ्लेबर खोज्न थाले, त्यसपछि घर भाँडिने घटनाहरू बढ्न थाले, तर स्वस्थ यौन व्यवहारले स्वास्थ्यलाई फाइदै हुन्छ । अहिलेको पुस्ताले प्रेम गर्दा यौनको स्वाद पनि सँगै लिइरहेको हुन्छ ।

म लेखेरै दिन्छु, काठमाडौंमा बस्ने अधिकांश केटाकेटी भर्जिन छैनन्, किनभने सबैमा यौनको चाहना हुन्छ । यौनसम्पर्क भएन भने मानिस पागल हुन्छ । हरेकलाई यौनसाथी चाहिन्छ नै । प्रेममा यौन जरुरी हुन्छ । यद्यपि त्यस्तो सम्बन्ध गोप्य हुनुपर्छ । यो आफ्नो माया व्यक्त गर्ने उपयुक्त माध्यम पनि हो ।
प्रविधिको विकासले पनि युवा पुस्तालाई चनाखो बनाएको छ । कस्तो आसनमा यौनसम्पर्क गर्दा आनन्द अनुभूति हुन्छ भन्ने कुरामा इन्टरनेटले सहयोग गरिरहेको छ । विवाहअघि यौनसम्पर्क हुनैपर्छ, जसले चोखो माया गरेर यौनसम्पर्क गर्छन्, त्यसमा छुट्टै मजा छ । शारीरिक सन्तुष्टि लिन गरिने यौनसम्पर्कमा महिलालाई पीडा हुन्छ । सायद पुरुषलाई त्यसमा मजा हुँदो हो ।

शारीरिक सन्तुष्टिका लागि मात्र यौनसम्पर्क गर्ने मानिसले कसरी अरूसँग सम्बन्ध राख्छन् मलाई अचम्म लाग्छ । जसले फिलिङ्स बुझ्छ त्यसमा पो मज्जा हुन्छ । मनसाय नबुझी गरिने शारीरिक सम्बन्धमा मज्जा हुँदैन । यदि नेपालमा पनि रेड लाइट एरिया भैदिएको भए बलात्कारका घटनाहरू कम हुन्थे । सरकारले रेड लाइट एरियालाई मान्यता दिनुपर्छ ।

सरस्वती लामा,
रक गायिका
जरुरी हो भन्ने कुरा नै जरुरी छैन । यो प्रश्न नै जरुरी छैन । प्रेममा यौनको आवश्यकता हुन्छ । प्रेम त्यस्तो शब्द हो जुन सोच–विचार गरेर गरिँदैन । यो त्यसरी गरिने चिज पनि होइन । हुन पनि सक्छ, नहुन पनि सक्छ । भए पनि आपत्ति छैन, नभए पनि आपत्ति छैन । प्रेमको अगाडि सबै कुरा फिक्का हुन्छ । प्रेमले जिते संसार ढल्छ । एउटा ज्यानको त के कुरा भयो र ? यौनसम्पर्कको के कुरा भयो र ?

सिर्जु अधिकारी,
गायिका, मोडल
दुई आत्माको संगम भएको हुनाले प्रेम यौनमय भयो भने सुनमा सुगन्ध हुन्छ । यो प्राकृतिक नियम पनि हो र स्वभाविक पनि हो । यसले एक–अर्कासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । अझ बढी आत्मीयताको आभास हुन्छ । यसले जीवन जिउनका लागि उत्साह–उमंग थपिदिन्छ । यो आधारभुत आवश्यकता पनि हो । त्यसको पूर्तिका लागि विश्वासिलो, अत्यन्तै प्रिय मानिस उपलब्ध हुनुपर्छ । आफूलाई माया गर्ने, मन पराउने, साथ दिने मानिस हुनुपर्छ । प्रेमसँगै यौनसम्पर्क भयो भने त्यो दीर्घकालीन हुन्छ, त्यो माया, सम्बन्ध अझ प्रगाढ हुन्छ । मायाको सुन्दर संसार बनाउन प्रेममा यौन जरुरी छ । आपसी समझदारी, विश्वसनीयता, गोपनीयता तथा आत्मीयता हुनुपर्छ । त्यति भए सम्बन्ध प्रगाढ हुन्छ ।

प्रेमसहितको यौन अमूल्य हुन्छ । कतिपय यौनसम्पर्कमा प्रेम नहुन पनि सक्छ । त्यो आकर्षण मात्र हो । त्यसमा रूप, बनावट अनि पहिरनको प्रशंसा गरिन्छ । साँचो प्रेममा एक–अर्काको खुसी र भलाइ हुन्छ । समर्पण हुन्छ, त्याग हुन्छ । कतिपय अवस्थामा उसको खुसीका लागि सबै थोक गरिन्छ । हरेक कुरामा त्याग गरिन्छ । माया गरेको मानिसका लागि सबै थोक गरिन्छ । उसका स–साना कुराको ख्याल गरिन्छ । सम्झौता गरिन्छ । जसरी पनि उसलाई खुसी र सुखी तुल्याउन खोजिन्छ ।

आदर्श प्रधान,
मनोविद्
प्रेममा यौनसम्पर्क अपरिहार्य छैन, बिलकुल छैन । प्रेममा यौनसम्पर्क हुँदै हुँदैन भन्नेचाहिँ छैन । प्रेममा लिने भन्दा पनि दिने गरिन्छ, तर अहिले स्वार्थ अनि सर्तको विनिमयलाई प्रेम मानिन्छ । कतिपयले यौनसम्पर्क गरेपछि मात्र प्रेम भएको मान्छन् । कतिपय अवस्थामा प्रेममा यौनसम्पर्क हुन पनि सक्छ, तर अनिवार्य हुँदैन । यौनसम्पर्क वासनाले भरिएको हुन्छ तर प्रेममा वासना हुँदैन । यौनसम्पर्कमा प्रेम छ कि छैन भन्ने कुरा मुख्य हो । प्रेमको गहन अवस्थामा यौनसम्पर्कले प्रवेश पाउन सक्छ, तर यदि त्यो यौनसम्पर्कमा प्रेम छैन भने, यौनसम्पर्क पनि सकिन्छ, प्रेम पनि सकिन्छ ।

धेरै मानिसले प्रेममा शरीर मात्र खोज्छन् । प्रेम भनेको भावनात्मक कुरा हो । अचेलको प्रेम गर्ने शैली केवल शरीर र मनको तहमा मात्र सीमित भैरहेको छ । मनोविज्ञानको भाषामा भन्ने हो भने आमपुरुषले प्रेममा यौनसम्पर्क चाहन्छ, तर महिलाहरू प्रेमका लागि यौनसम्पर्क गर्छन् ।

-कान्तिपुर साप्ताहिक

 

प्रतिक्रिया दिनुहोस्