
केपी शर्मा ओली
१. एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नी श्रीमती राधिका श्रेष्ठबाहेक अरूले पकाएको खाने कुरा कहिल्यै खाँदैनन् ।
२. उनी भगवान् विष्णुका उपासक हुन् । प्रत्येक दिन बिहान आधा घण्टा संख-घण्टसहित पूजा-अर्चना गर्छन् । उनका साथमा कहिल्यै चाणक्य नीतिको किताब छुट्दैन ।
३. आफ्नो भाषणमा कुनै नयाँ तुक्का भन्नुअघि उनी हास्यव्यंग्य लेखक खगेन्द्र संग्रौलाको घर चाबहिलमै पुगेर अन्तरंग गर्छन् । भेट सम्भव नभए फोनबाटै भए पनि कुरा गरेर मात्र भाषण गर्न जान्छन् ।
४. कलाकारहरू रागिनी उपाध्याय, हरिवंश आचार्य, मनोज गजुरेललाई उनैले बालकोटमा घर बनाउन पहल गरेका हुन् ।
५. माओवादी अध्यक्ष पुष्प कमल दाहालसँग बाहिर कडा रूपमा प्रस्तुत भए पनि भित्र निकै सुमधुर सम्बन्ध छ । ओलीले अध्यक्ष पुत्र प्रकाश दाहाललाई आफ्नो धर्मपुत्रका रूपमा पाल्न पुष्प कमल दाहालसँग मागेका थिए ।
६. केपी ओली झापाका र कोमल वली दाङकी भए पनि उनीहरूबीच दाजु-बहिनीको सम्बन्ध छ । केपी प्रत्येक तिहारमा टीका लगाउन कोमल निवास, सानेपा पुग्छन् ।
७. हिन्दी, अंग्रेजी मात्र होइन, क. केपी चाइनिज पनि राम्रोसँग बोल्न सक्छन् । गत नयाँ वर्षमा चिनियाँ दूतावासले आयोजना गरेको रात्रिभोजमा उनले चाइनिज भाषामै सम्बोधन गरेर चीनसँगको संबन्धलाई बलियो बनाउने प्रयास गरेका थिए ।
८. आफ्नी पत्नी राधिकालाई केपीजी ‘कान्छी’ भनेर सम्बोधन गर्छन्, राधिका भाउजूले चाहिँ उनलाई ‘बौचाँ’ भन्छिन् ।
९. उनी विभिन्न बाजा बजाउन र गाउन जान्दछन् । ओलीले चाँडै नै एउटा राष्ट्रिय गीतको एल्बम निकाल्दैछन् । एल्बमको शीर्षक हुनेछ— परबाट आयो दाहाल जेठो झट्टी बोकेर ।
१०. उनी कहिल्यै घडी लगाउँदैनन् र घरमा पनि कुनै भित्ते घडी छैनन् । त्यसैले केपीजी कार्यक्रमहरूमा प्राय: निर्धारित समयभन्दा एक-दुई घण्टा ढिलो पुग्छन् ।
पुष्प कमल दाहाल
१. क. पुष्पकमल दाहाल विद्यार्थी कालमा नेपाली कांग्रेससँग आबद्ध थिए । रामपुर क्याम्पसमा भएको युनियन चुनावमा चिया खाने विषयमा नेविसंघकै साथीहरूसँग विवाद भएपछि उनी वाम राजनीतिमा होमिएका हुन् ।
२. पुष्प कमलको पहिलो उपनाम चट्याङ थियो । यो नाम रामपुर क्याम्पसमा पढ्दा उनकै सहपाठी कृष्णमुरारी गौतमले दिएका थिए । पछि गौतमले यो नाम आफैं लिएर हास्यव्यंग्यकार चट्याङ मास्टर बने भने त्यसको बदलामा पुष्प कमलले आफ्नो नाम कमरेड प्रचण्ड राखेका हुन् ।
३. पुष्पकमल दाहालका प्रकाशबाहेक अर्का एक छोरा पनि छन्, सञ्जयकमल दाहाल । जो सानैमा परिवारसँग विद्रोह गरेर कांग्रेससँग नजिक भए । हाल उनी नेपाल टेलिकममा कार्यरत छन् ।
४. ०५२ सालभन्दा अघि उनको बोलीमा कुनै थेगो थिएन । युद्ध सञ्चालनका क्रममा स्वदेशी तथा विदेशीहरूसँग चन्दा माग्ने क्रममा ‘मनी, मनी’ भन्दाभन्दै शब्दैपिच्छे ‘मने’ जोड्ने लत बसेको हो ।
५. उनी मोहन वैद्यलाई तपाईं, बाबुरामलाई तिमी र नेत्रविक्रम चन्दलाई तँ भन्न खोज्छन् ।
६. बोल्दाबोल्दै बहकिने उनको बोलीमा लगाम लगाउन पार्टीले नै कमरेड समीर दाहाललाई खटाएको छ । यदि प्रचण्ड बहकिए समीर नजिकै गएर चिमोट्ने काम गर्छन् ।
७. उनको एउटा गज्जबको मनोवैज्ञानिक अवस्था छ । धेरै सपना देख्छन्, तर बिर्सिहाल्ने बानी छ ।
८. व्यक्तिगत भेटघाटमा केपी ओलीलाई उनी ‘लुङ्गा’ भन्छन् भने केपीले चाहिं ‘सोल्टी’ भनेर सम्बोधन गर्छन् ।
९. उनी संस्कृतमा एउटा आत्मकथा लेख्दैछन्— इधम् भ्रष्टम उधम भ्रष्टम् ।
१०. केही महिनाअघि स्वामी आनन्द अरुणबाट माला दीक्षा लिएर उनी ‘स्वामी प्रचण्डम् बैराग्यम्’ बनेका थिए ।





