
८ चैत २०७४ काठमाडौँ
राजधानीको ठमेलमा मदिरा पिएर ट्याक्सी चालकसँग झगडा गरिरहेका एकजना एआईजीका छोरा प्रहरी अधिकृतबाटै नाकेडाँडी भाँच्चिने गरि पिटाइ खाएका छन् । नेपाल प्रहरीका एआईजी कमल सिंह बमका छोरा शुभम बमलाई प्रहरी निरीक्षक डिबी लिम्बुसहितको टोलीले नाकको डांडी नै भाँच्चिने गरि कुटपिट गरेको आरोप लगाइएको छ ।
ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम गत शुक्रबार राति ठमेलबाट पक्राउ परेका थिए । तर, बम परिवारले भने ढिलो गरि बुधबार घटनालाई सार्वजानिक गरेको छ । एआईजी बमकी श्रीमती महिमा बमले शुभमले प्रहरीमाथि कुटपिट नगरेको, तर, प्रहरी निरीक्षक लिम्बुसहितको टोलीले शुभमलाई भने कुटेपिट गरेको दाबी गरिन् ।
ट्याक्सी चालकसँग विवाद भइरहेका बेला प्रहरीले ट्याक्सी चालकको मात्रै कुरा सुनेर आफूलाई पक्राउ गरेर कुटपिट गरेको शुभमको भनाइ छ । शुभमकाअनुसार शुक्रबार साथीहरुसँग ठमेल गएको र राति घर फर्किने बेलामा भाडाको विषयले ट्याक्सी चालकसँग विवाद हुँदा प्रहरीले पक्राउ गरेको हो ।
ट्याक्सी चालकले १ हजार बढी भाडा मागेपछि भाडामा बार्गेनिङ भइरहेका बेला प्रहरीले मदिरा खाएर बाटोमा हल्ला गर्ने भन्दै आफूलाई कुटेको शुभमले दाबी गरे । प्रहरीको पिटाइबान शुभमको नाक भाँच्चिएको छ भने देब्रे आँखामुनि निलो दाग छ ।
यता शुभमको आमाले भने प्रहरीले कानुनविपरीत काम गरेको आरोप लगाएकी छन् । मदिरा पिएको अवस्थामा पक्राउ गरेर कानुनी कारबाही गर्नु जायज भएपनि विना कारण कुटपिट गर्ने र नाक भाँच्ने अधिकार प्रहरीलाई नभएको उनको भनाइ छ । उक्त घटनाबारे प्रहरीले छानविन टोली नै गठन गरेको छ । उपत्यका प्रहरी र दरबारमार्ग बृत्त दुवैबाट छानबिन भएको छ ।





