पोखरा विश्वविद्यालयमा बढ्यो स्ववियु चुनावको रौनक



लेखनाथ, ७ चैत

पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन चुनावको सरगर्मी ह्वात्तै बढेको छ । चैत २१ का लागि तोकिएको चुनाव पहिलोपल्ट हुन लागेकाले पनि विद्यार्थीहरू उत्साही छन् ।

विद्यार्थी संगठनका तुल, ब्यानर र झन्डाले क्याम्पस रंगीचंगी देखिएको छ । बिहानको चियादेखि दिउँसोको खाजासम्म विद्यार्थीबीच चुनावकै विषयमा छलफल चल्छ । क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल क्रान्तिकारी र संघीय समाजवादी फोरमनिकट विद्यार्थी संगठन अस्तित्वमा छन् । प्रमुख तीन विद्यार्थी संगठनले धमाधम चुनावको प्रचारप्रसार थालेका छन् । अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारीले पोखरा लेखनाथ महानगरपालिकाको ढुंगेपाटनमा रहेको केन्द्रीय क्याम्पस गेटअगाडि सम्पर्क कार्यालय खोलेका छन् ।

सम्पर्क कार्यालयमा विद्यार्थीको दैनिक भीड लाग्ने गर्छ । संगठन निर्माण, पर्चा, पम्प्लेट वितरण, विद्यार्थी भेटघाटलाई तीव्रता दिइएको छ । तुल, झन्डा, ब्यानर टाँग्ने, माइकिङ गर्नेलगायत गतिविधि क्याम्पस वरपर भइरहेका छन् । विद्यार्थी आकर्षित गर्न सम्पर्क कार्यालयमा नि:शुल्क वाइफाईको व्यवस्था संगठनले गरेका छन् ।

अनेरास्ववियुले पोखरा विश्वविद्यालय राष्ट्रिय समिति अध्यक्ष नेसन शर्माको संयोजकत्वमा ३ सय ९१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेविसंघले केन्द्रीय क्याम्पस मूल एकाइ समिति अध्यक्ष स्वतन्त्र बस्नेतको संयोजकत्वमा १ सय ५१ सदस्यीय र क्रान्तिकारीले केन्द्रीय सदस्य रामचन्द्र अधिकारीको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

कक्षाकोठामा गएर सदस्यता वितरण गर्ने, एकाइ गठन गर्ने, भावी एजेन्डा प्रस्तुत गर्ने काम संगठनले गरिरहेका छन् । अनेरास्ववियुले प्रत्येक कक्षाकोठामा भित्ते घडी वितरण गरेको छ । नेविसंघले सांसद गगन थापालाई ल्याएर नवआगन्तुक विद्यार्थीको स्वागत र उत्कृष्ट विद्यार्थीको सम्मान कार्यक्रम गरेको छ । क्रान्तिकारीले सरसफाइ, रक्तदानलगायत कार्यक्रम गरेको छ । विद्यार्थी आकर्षित गर्न संगठनले चुनावकै मुखमा खेलकुद मैदान सम्याउने, पार्किङ व्यवस्थित गर्नेजस्ता काम गरेका छन् ।

यस्तो छ निर्वाचन तालिका
विश्वविद्यालयमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष, ८ सदस्य र समानुपातिकतर्फ ८ गरी १९ पद संख्यामा निर्वाचन हुन्छ । विश्वविद्यालयले निर्वाचन समिति बनाएर तालिका सार्वजनिक गरिसकेको छ ।

विश्वविद्यालयका पाठयक्रम विकास केन्द्र निर्देशक राजेश ठकुराठीको संयोजकत्वमा गठित समिति ६ सदस्यीय छ । समितिले प्रकाशन गरेको तालिका अनुसार चैत ८ लाई विद्यार्थी संघ/संगठन तथा समूह दर्ता मिति तोकिएको छ । चैत ९ मा मतदाता नामावली प्रकाशन, चैत ९ कै ३ देखि ५ बजे र चैत १२ को १० देखि १ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध गर्ने समय छुट्टयाइएको छ । समितिले मतदाता नामावलीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन चैत १४ मा गर्नेछ । उक्त दिन समितिले उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्नेछ । चैत १५ लाई प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दर्ताको दिन तोकिएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन र नामावली उपर दाबी विरोध पनि उक्त दिन नै हुनेछ । समितिले चैत १६ मा दाबी विरोधउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्य गर्नेछ । चैत २१ को बिहान साढे ७ बजेदेखि मतदात सुरु हुन्छ ।

केन्द्रीय क्याम्पसमा विज्ञान र प्रविधि, स्वास्थ्य विज्ञान, व्यवस्थापन र मानविकी गरी ४ संकाय सञ्चालनमा छन् । उक्त संकायका विभिन्न कार्यक्रममा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने २ हजार १ सय ३० विद्यार्थी चुनावमा सहभागी हुनेछन् । मतदानका लागि विद्यार्थी परिचयपत्र अनिवार्य लिन निर्वाचन समितिले सूचना जारी गरेको छ । यसअघि देशैभरका विश्वविद्यालयमा चैत १६ मा निर्वाचन गर्ने भनिए पनि नेत्रविक्रम चन्द समूहनिकट विद्यार्थी संगठनको आग्रहमा प्रमुख तीन विद्यार्थी संगठनको सहमतिमा चैत २१ पुर्‍याइएको हो ।

यी हुन् दाबेदार
विद्यार्थी संगठनले एक्लाएक्लै चुनावी प्रचारप्रसार थाले पनि उम्मेदवारी दर्ताको दिनसम्म तालमेल हुने सम्भावना देखिएको छ । वाम गठबन्धनमा अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल हुने निश्चितप्राय: छ । दुवै संगठनका निर्वाचन परिचालन संयोजकले उक्त सम्भावनालाई नकार्न चाहेनन् ।

अनेरास्ववियुका पोखरा विश्वविद्यालय राष्ट्रिय समिति अध्यक्ष शर्माले तालमेलबारे क्रान्तिकारीसँग छलफल चलिरहेको बताए । ‘हामीबीचमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘सम्भवत: माउ पार्टीबीचै गठबन्धन भएकाले हामीबीचमा पनि हुनेछ ।’ अनेरास्ववियुले केन्द्रीय क्याम्पस समिति अध्यक्ष सुनील तिमिल्सिनालाई सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । सांगठनिक निर्णय भने भइनसकेको शर्माले बताए । बलियो संगठन नै जितको आधार रहेको उनको भनाइ थियो ।

क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले तालमेलबारे आफ्नो संगठन सकारात्मक रहेको बताए । ‘पद बाँडफाँटमा सम्मानजनक अवस्था सिर्जना हुँदा तालमेलमा हामीलाई कुनै अप्ठयारो छैन,’ उनले भने, ‘अहिले छुट्टाछुट्टै प्रचारप्रसार गर्दा पनि दवैलाई फाइदा हुन्छ ।’

सभापतिको उम्मेदवार बन्ने पात्रको विषयमा भने संगठनमा छलफल नभइसकेको उनले जनाए ।

नेविसंघ सभापति बस्नेत आफैं आकांक्षी भए पनि २८ वर्षे उमेर हदका कारण अवसर गुमाएका छन् । उनले संगठनलाई योगदान दिएको र विद्यार्थीबीच लोकप्रिय पात्रलाई उम्मेदवारका रूपमा खडा गर्ने बताए । नेविसंघ र संघीय समाजवादी फोरम विद्यार्थी युनियनबीच तालमेलको कुरा चलिरहेको उनले जनाए । ‘हामी एक्लै लड्दा पनि जित्छौं,’ उनले भने, ‘आवश्यकता महसुस भयो भने तालमेल गर्छौं ।’ स्ववियु सभापतिको उम्मेदवारमा नेविसंघका दिविन भट्टराई, गोपी तिवारी र डिभान भुजेलको नाम चर्चामा छ ।

मेडिकल कलेज साझा मुद्दा
पोखरा विश्वविद्यालयले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्न पोखरा लेखनाथ महानगरको विभिन्न स्थानमा सयौं रोपनी जग्गा चर्चेको छ । महत्त्वाकांक्षी कार्यक्रमका रूपमा लिइएको मेडिकल कलेज हालसम्म खुल्न सकेको छैन । तीनै विद्यार्थी संगठनले आफ्नो एजेन्डामा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनालाई मुख्य मुद्दा बनाएका छन् ।

त्यसबाहेक अनेरास्ववियुले पोखरा विश्वविद्यालयले दिने सम्बन्धन नियन्त्रण गर्ने, केन्द्रीय प्रवेश परीक्षा प्रणाली लागू गर्ने, ई–लाइब्रेरी व्यवस्थित गर्ने एजेन्डा प्रस्तुत गरेको छ । नेविसंघले शैक्षिक गुणस्तर वृद्धिमा पहल गर्ने, आंगीक क्याम्पसलाई व्यवस्थित बनाउने मुद्दा उठाएको छ । क्रान्तिकारीले सूचना प्रविधि केन्द्रलाई एकीकृत बनाउने, स्नातकोत्तरको छुट्टै भवन बनाउनुपर्ने, छात्रवृत्ति शाखालाई छुट्टै बनाउने मुद्दा विद्यार्थीमाझ लगेको छ ।

प्रतिक्रिया दिनुहोस्