बेहुला भागेपछि बेहुलीले गरिन् सिन्दूर पोते फिर्ता (भरण, पोषण र शिक्षाका लागि ३५ लाख रुपैयाँ)



झापा । दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता पाएका हुन् ।

फागुन २० गते सामाजिक परम्पराअनुसार बुद्धशान्ति गाउँपालिका–१ निवासी रेग्मीले सोही गाउँपालिका निवासी एक किशोरीसँग विवाह गरेका थिए । राजेश विवाह गरेको भोलिपल्टै आफूमा शारीरिक समस्या रहेको बताउँदै बेहुली छाडेर भागे । छोरो भागेपछि राकेशलाई युवतीले मंगलबार सिन्दूर पोते फिर्ता दिएकी हुन् ।

उनले इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशलाई प्रहरी कार्यालयमै पुगेर लगाइदिएको सिन्दूर पोते फिर्ता दिएकी हुन् । युवतीले फिर्ता दिएको सिन्दूर पोते बुझ्दै राकेशले उनको उज्वल भविष्यको कामना गरे । उनले भने, ‘तिम्रो भविष्य सुन्दर भएको देख्न चाहन्छु ।’

विवाहको भोलिपल्टै बेहुली छाडेर बेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा दुई दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो । शुरुमा आफूलाई अपहरण गरेर भारतको पटना पुर्याएको बताएका राकेशले पछि आफैँ आफूमा शारीरिक समस्या भएपछि घर छोडेर हिँडेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

बेहुली छाडेर बेपत्ता बनेका राकेशले आफ्नी छोरीको भविष्य अन्योलमा पारेको भन्दै बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परे भनिएका राकेशलाई प्रहरीले सकुशल फेला परेको र नाटक गरेको थाहा पाएपछि उनलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

राकेशका बुबा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्योलमा परेको भन्दै उनको भरण, पोषण र शिक्षाका लागि ३५ लाख रुपैयाँ दिने सहमति जनाउनुभएको थियो । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा आइतबार र सोमबार भएको बहसमा उहाँले यस्तो सहमति जनाउनु भएको थियो ।

मंगलबार भएको बहसमा बेहुलाले बेहुलीलाई उपहार दिएको सिन्दूर पोते फिर्ता गर्ने सहमति भएको र सहमतिअनुसार बेहुलीले बेहुलालाई सिन्दूर पोते फिर्ता दिएको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो ।

बेहुलाले दान गरेको सिन्दूर फिर्ता गर्न बेहुलीसहित उनकी आमा, काकी, सानिमा, सानाबा र गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष भुर्तेल, न्यायिक समिति सचिव अम्बिका अधिकारी, सदस्य मेनुका पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारी लगायतको टोली इलाका प्रहरी कार्यालय धुलाबारी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्