
काठमाडौं, ७ चैत
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले समृद्धिको सपना पूरा गर्न उर्जामा आत्मनिर्भर हुनुपर्ने भन्दै उर्जामा आत्मनिर्भरता र उर्जा आयात प्रतिस्थापन आफ्नो रणनीति भएको बताएका छन् ।
वैकल्पिक उर्जा केन्द्रको निरीक्षण गर्दै मन्त्री अनन्तले समृद्धिको लागि उर्जा क्षेत्रको महत्व निर्णायक हुने बताएका हुन् । ‘समृद्धिको लागि उर्जा क्षेत्रको महत्व निर्णायक हुन्छ’, मन्त्री अनन्तले भने, ‘जसको लागि उर्जामा आत्मनिर्भरता र उर्जा आयात प्रतिस्थापन गर्नु हाम्रो रणनीति हो ।’
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको बताउनुहुँदै मन्त्री अनन्तले हरेक काममा पारदर्शी र जवाफदेही हुन निर्देशन दिए । सेवाग्राहीले अनुभूति गर्ने गरी काम गर्न सुझाव दिँदै मन्त्री अनन्तले कुनै कमजोरी देखिए सह्य नहुने चेतावनी दिए । ‘लाभग्राही र सेवाग्राहीले अनुभूति गर्ने गरी काम गर्नुहोस्,’ उनले भने, ’हरेक काममा पारदर्शी र जवाफदेही हुनुपर्छ ।
उनले देशका २४ प्रतिशत उज्यालो नपुगेका क्षेत्रमा गएर काम गर्न वैकल्पिक उर्जा केन्द्रलाई निर्देशन दिए ।





