मौलायो मरिच तस्करी



काठमाडौं, ६ चैत

यो वर्ष नेपालमा मरिचको आयात दर अस्वाभाविक दरमा बढेको छ, सँगै मरिचको तस्करी पनि । नेपालमा मरिच सस्तो भएपछि त्यसको सीमापार तस्करी मौलाएको हो ।

सरकारले न्युनबिजकीकरण गरेर ल्याइएको आशंकामा केही दिन मरिचमाथि गतवर्षकै भन्सार दर कायम गर्न खोजेको थियो । तर, व्यवसायीले उल्टै सरकारमाथि दबाव सिर्जना गरे । अन्ततः प्रति मेट्रिक टन ३७ सय डलर मूल्यमा मरिचको भन्सार पास पुनः नियमित गरिएको छ ।

वीरगञ्जको सुख्खा बन्दरगाह भएर गत ८ महिनामा १३ लाख ३६ हजार किलोग्राम मरिच आयात भयो । गतवर्ष यस्तै अवधिमा बन्दरगाहबाट २ लाख ९१ हजार केजी मात्रै मरिच आयात भएको थियो ।

गतवर्ष फागुनम्म २४ करोड रुपैयाँको मरिच आयात भएकोमा यो वर्ष १ अर्ब ३३ करोडको मरिच आयात भइसकेको बन्दरगाहका निमित्त प्रमुख धनबहादुर बरुवालले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालय भएर पनि मरिच आयात निकै बढेको छ ।

वैशाखदेखि पुससम्म वीरगञ्ज भन्सारबाट ३१ लाख ८९ हजार केजी मरिच आयात भएको थियो । तर, गतवर्ष सात लाख ९२ हजार केजी मात्र आएको तथ्यांकले देखाउँछ । यसरी ६ गुणासम्म बढी भित्रिएको मरिच कता खपत भइरहेको छ ? यो प्रश्न अहिले सरकारी अधिकारीहरु नै गरिरहेका छन् ।

अर्थ मन्त्रालयका अधिकारीहरुको निश्कर्ष छ, ‘अहिले पीरो मरिचको कालोधन्दा फस्टाएको छ ।’

सरकार गल्यो

नेपालमा खपत हुनेभन्दा उच्च दरमा मरिच आयात बढ्दै गर्दा अर्थमन्त्री युवराज खतिवडाले लिएको न्युन बिजकीकरणविरुद्धको ‘एक्सन’ले मरिच आयात पछिल्ला दुईहप्तामा ठप्प जस्तै बन्यो ।

खतिवडाले भन्सार कार्यालयहरुलाई सूचना मूल्यसूचीका आधारमा नै भन्सार मूल्यांकन गर्न निर्देशन दिएपछि मरिचको आयात लगभग रोकिएको थियो । सूचना मूल्यसूचीको कार्यान्वयनले मरिच भित्रिन छाडेपछि फेरि मूल्यमा नयाँ सहमति भएको हो ।

ब्यापारीहरुले यो वर्ष भियतनाममा मरिचको उत्पादन बढेका कारण मूल्य आधा सस्तिएको दावी गरेका छन् ।

त्यसैका आधारमा गतवर्षहरु भन्दा निकै कम मूल्यको बिजक देखाएर भन्सार पास हुँदै गर्दा अर्थमन्त्रीको ‘एक्सन’ले व्यवसायीले मरिच आयात रोकेका थिए ।

आयात रोकेपछि सरकारले आवश्यक अध्ययन गरेर ३७ सय डलर प्रतिमेट्रिक टनमा मूल्यांकनमा भन्सार पास गराउन सुरु गरेको छ ।

यसअघि भन्सारले सूचना मूल्यसूचीमा कालो मरिचको भन्सार मूल्य प्रति मेट्रिक टन ७ हजार डलर तोकेको थियो भने सेतो मरिचको मूल्य ९ हजार ।

ब्यापारीहरुले गतवर्ष औसत रुपमा ८ हजार डलर प्रति मेट्रिक टनमा मरिचको भन्सार मूल्यांकन गराएका थिए । डाबर नेपालले १२ हजार डलरसम्म मूल्यको मरिच भित्र्याएको थियो ।

तर, यो वर्ष त्यसलाई घटाएर ब्यापारीहरुले ३ हजार डलर प्रतिमेट्रिक टन आसपासको बिलबिजक देखाएका छन् । डाबर नेपालले पनि ३१ सय डलर प्रतिमेट्रिक टनको प्रतीतपत्र (एलसी) देखाएको छ । यसैका आधारमा ब्यापारीले न्युनबिजकीकरण नगरेको भन्दै मूल्यांकन घटाउन दबाव दिएका थिए ।

‘सरकारले कि त यतिभन्दा बढी मरिच आयात गर्न नपाइने भनेर सीमा तोकिदिनुर्‍यो, कि त भित्रिएका मरिच तस्करी हुन नदिन प्रहरी प्रशासनलाई सक्रिय गराउनुपर्‍यो,’ एक ब्यापारी भन्छन्,’भन्सारमा आएको मरिच तस्करी होला भनेर पास गराउँदिन भन्न पाइँदैन । भित्रिएपछि कहाँ खपत हुँदैछ कि तस्करी हुँदैछ भनेर सरकारले नै हेरोस् ।’

सुपारी छाडेर मरिचतिर तस्कर

पछिल्लो समयमा मरिचको आयात यति अस्वाभाविक दरमा बढ्नुले तस्करी भइरहेको आशंकालाई थप बल पुगेको सरकारी अधिकारीहरु बताउँछन् ।

यो वर्ष मरिचको तस्करी सीमा क्षेत्रमा निकै मौलाएको छ । तेस्रो देशबाट नेपाल ल्याएर भारत पुर्‍याउँदा निकै नाफा हुने भएपछि त्यसमा तस्करको सञ्जाल नै सक्रिय भएको छ ।

यसअघि सुपारी र सुकमेल तस्करी गर्ने गिरोह अहिले मरिचको कालोधन्दामा लागेको छ । मरिचको अवैध तस्करी बढेपछि आयात पनि उच्च रुपमा बढेको भन्सार अधिकारी स्वीकार्छन् ।

मरिच मसलाका रुपमा प्रयोग हुने उपभोग्य वस्तु हो । नेपालमा सिजनअनुसार मरिचको माग स्वभाविक रुपमा १५ प्रतिशतसम्म मात्रै उतारचढाव हुो खुद्रा ब्यापारीहरु बताउँछन् । तर, यसवर्ष आयात ४ देखि ६ गुणाले बढ्नुले तस्करी मौलाएको पुष्टी हुने उनीहरुको पनि दावी छ ।

‘आयातकर्ताहरुले अन्तर्राष्ट्रिय रुपमा मरिचको मूल्य आधा घटेको भनिरहेपनि काठमाडौंको बजारमा भने मरिचको खासै मूल्य घटेको छैन । आयात दर ठूलोमात्रामा बढ्दा पनि मरिच किन सस्तिएन,’ ती ब्यापारी भन्छन् ।

असनमा नै अहिले १० सय रुपैयाँदेखि १४ सय रुपैयाँ प्रतिकिलोसम्म मरिच बिक्री भइरहेको छ । सीमा क्षेत्रमा भने तुलनात्मक रुपमा मरिच सस्तिएको छ ।

तराईबाटै भारत

भन्सारदर कम भएपछि तेस्रो मुलुकबाट आउने मरिचको मूल्य भारतमाभन्दा नेपालमा सस्तो छ । त्यसैकारण नेपाल आएको मरिच अवैध बाटो भएर भारतसहित विभिन्न मुलुकमा तस्करी हुन थालेको आशंका छ ।

भारतमा भन्दा किलोमै ४ सय रुपैयाँसम्म सस्तो पर्ने भएपछि मरिचलाई लुकाइ-छिपाई र प्रहरी प्रशासनकै सेटिङमा सीमा कटाउने गिरोह सक्रिय भएको हो ।

एक क्विन्टल मरिच तस्करी गर्दा ५० हजारसम्म नाफा गर्न सकिने भएपछि सीमा क्षेत्रबाट मरिचको तस्रकी मौलाएको ब्यापारीहरु स्वीकार्छन् । मध्यतराईका बारा, पर्सा, रौतहट, लगायत जिल्लाका सीमा क्षेत्रबाट पछिल्लो समयमा केही मरिच तस्करहरु पनि समातिएका छन् ।

नेपालमा भियतनाम, ब्राजिल, साउदी अरेबिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, अमेरिका लगायतका मुलुकबाट मरिच आयात हुन्छ । तर, अहिले नेपाल आएको मरिच भारतसहित अन्य मुलुकमा पनि पुगिरहेको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्