
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भइसकेकाले शेरबहादुर विकल्प नेपाली कांग्रेसभित्र नरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता निधिले देउवाको विकल्प रामचन्द्र पौडेल हुन नसक्ने बताए ।
‘शेरबहादुर देउवाजीको बिकल्प खोज्ने हो भने पाइन्छ । तर, देउवाजीको बिकल्प रामचन्द्र होइन’, उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनमा रामचन्द्रजीले हार्नु भएको छ । त्यसैले अहिले देउवाको बिकल्प कोही पनि छैन ।’
पौडेल समूहले माग गरिरहेको विशेष महाधिवेशन अबैधानिक रहेको नेता निधिको भनाइ छ । उनले भने, ‘के को विशेष महाधिवेशन ? विशेष अधिवेशन सधिवेशन हुँदैन । जे मन लाग्यो त्यो बोल्न पाइन्छ ?’ नेता निधिले कांग्रेसभित्र गुट रहेको बताउँदै गुटकाकारण पार्टीलाई नोक्सानी हुन नहुने बताए ।
नेपाली कांग्रेसलाई संघीय संरचनामा लैजानका लागि विधान संशोधन आवश्यक रहेको बताएका नेता निधिले भने, ‘कांग्रेसलाई संघीय संरचनामा लगेर संगठन सुदृढीकरण गरिन्छ ।’
उनले कांग्रेसलाई कमजोर भयो भनेर लगाइएको आरोपको खण्डन गरे । ‘कांग्रेस कमजोर भएको छैन’, निधिले भने, ‘निर्वाचनमा कांग्रेसले पाउँदै आएको मत पाएको छ । प्राविधिक रुपमा हाम्रा उम्मेदवार वाम गठबन्धनका उम्मेदवारसँग हारेका मात्रै हुन् ।’





