कानुनमन्त्री शेरबहादुर तामाङको सम्पत्ति सार्वजनिक



कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले सोमबार पत्रकार सम्मेलन गर्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

जन्मस्थान सिन्धुपाल्चेक जिल्ला मेलम्ची नगरपालिका १ मा मन्त्री तामाङको पुर्ख्यौली जग्गा रहेको छ । जुन अंशवण्डाबाट तामाङले पाएको बताएका छन् । श्रीमति उषाकला राईको नाममा मोरङ र खोटाङका ३ स्थानमा जग्गा रहेको तामाङले पत्रकार सम्मेलनमा बताएका छन् । मोरङको दुलारीमा साढे २ विगाहा, बेलबारीमा १ विगाहा र खोटाङमा १०५ रोपनी जमिन श्रीमति राईको नाममा छ ।

त्यस्तै काठमाडौँको पुरानो बानेश्वरमा ६ आना २ पैसा जग्गा स्वयम् तामाङको नाममा रहेको छ । त्यस्तै गोकर्णमा श्रीमति राईको नाममा ३ आनाको जग्गामा घर रहेको मन्त्री तामाङले जानकारी दिए । यसैगरी उनीसँग तीस तोला सुन पनि रहेको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा १५ लाखको सेयर समेत लिएका छन् ।

मन्त्री तामाङले कृषि विकास वैंकमा आफ्नो ४० लाख ऋण समेत रहेको सार्वजनिक गरेका छन् । त्यस्तै उनले विभिन्न व्यक्तिहरुलाई तिर्नुपर्ने ३० लाख ऋण रहेको बताए । हाल उनको साथमा एउटा मोटरसाइकल, एउटा गाडी, २ थान ल्यापटप र २ थान मोबाइल रहेको पत्रकार सम्मेलन बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्