मदिरा पिएर मर्नेलाई के को सम्मान : राज ठाकरे



काठमाडौँ: पटक पटक भनाइबाट चर्चामा आइरहने महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेले यस पटक बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीमाथि निशाना साँधेका छन् ।

राज ठाकरेले श्रीदेवीलाई राजकीय सम्मान दिइएकोमा सवाल उठाउँदै उनले श्रीदेवीले उनको जीवनमा कुनै गतिलो काम गर्न नसकेको भन्दै कडा आलोचना गरेका हुन् ।

‘कुन आधारमा उनलाई राष्ट्रि झण्डाले बेरियो ? यो सरकारको सबैभन्दा ठुलो गल्ती थियो’, उनले भनेका छन्, ‘श्रीदेवीको मृत्यु मदिराका कारण भएको थियो ।’

अन्नपुर्ण पोस्टमा खबर छ भारतीय सञ्चारमाध्यमका अनुसार राज ठाकरेले गुडी पडवामा महाराष्ट्र नवनिर्माण सेनाको आइतवार मुम्बईमा भएको र्‍यालीलाई सम्बोधन गर्दै यसो भनेका हुन् ।

राज ठाकरेले श्रीदेवीको निधनलाई लिएर भारतीय सञ्चारमाध्यमले अनावाश्यक चर्चा गरेको भन्दै आलोचना गरेका छन् । श्रीदेवीको मृत्युको समाचारलाई चर्चामा ल्याएर बैंक अफ पञ्जाब घोटालामा मुछिएका निरब मोदीको समाचार लुकाउन खोजिएको पनि उनले दाबी गरेका छन् । उनले भारतका सञ्चारमाध्यम अहिले त्यहाँको सरकारको इशारा र दबाबमा चलिरहेको पनि जिकिर गरेका छन् ।

ठाकरेले बलिउड अभिनेता अक्षयकुमारमाथि पनि निशाना साँधेका छन् । प्याडम्यान, ट्वाईलेट एक प्रेमकथा जस्ता फिल्म सरकार प्रायोजित रहेको पनि दाबी गरे । अक्षय कुमारलाई ठुला अभिनेता भन्दै अक्षयले भारत-भारत भन्नु ब्यर्थ रहेको तर्क गरे । ‘यहाँ भारत‍-भारत भनेर कराउनुको तर्क छैन । उनी अब भारतका नागरिक होइनन् । उनी क्यानेडियन नागरिक भइसकेका छन्, अक्षयसँग क्यानाडाको राहदानी छ ।’

समाचार अनुसार श्रीदेवीको निधन हृदयघातबाट भएको बताइएको थियो । तर फोरेन्सिक जाँचपछि उनको मृत्यु बाथटबमा डुबेर भएको पत्ता लागेको थियो । दुबईका स्थानीय सञ्चारमाध्यमका अनुसार बाथरूममा सन्तुलन गुमाएपछि श्रीदेवी पानीले भरिएको बाथटबमा ढलेकी थिइन् । उनको त्यहीँ डुबेर मृत्यु भएको थियो । श्रीदेवी आफ्ना भाञ्जाको बिहेमा सहभागी हुन पति बोनी कपुर परिवारका अन्य सदस्यसहित दुबई पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्