
काठमाडौँ, ५ चैत
प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग एकपटक पनि औपचारिक भेट गर्न नपाएका प्रहरी महानिरीक्षक प्रकाश अर्यालप्रति गृहमन्त्री रामबहादुर थापा बादलको दृष्टिकोण पनि राम्रो देखिएको छैन । आईजीपी अर्याल सरुवा लिस्ट बोकेर गृह मन्त्रालय छिरेका मात्रै थिए, गृहमन्त्री थापाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । शुक्रबार दिउँसो एक कार्यक्रममा गृह मन्त्रालय पुगेका आईजीपी अर्यालले सरुवा सूची पनि बोकेर गएपछि गृहमन्त्री थापाले अहिले हतार छैन भन्दै फर्काइदिएका हुन् ।
आईजीपी अर्याललगायत १५ एआइजी र ६ जना डिआइजीहरूको जागिर खाने अवधि अब २४ दिन मात्रै छ । उनी मात्र होइन, उनको समूहका सबैको २४ दिन बाँकी छ । अवकाशको दिन नजिकिँदै गर्दा प्रहरी महानिरीक्षक अर्याल लामो समयदेखि रोकिएको सरुवा प्रक्रियालाई सुचारु गर्न सरुवा लिस्ट तयार गरी गृहमन्त्री थापासमक्ष पुगेका थिए । तर, मन्त्री थापाले केही दिन पख्नुस् भन्दै आईजीपी अर्याललाई फर्काइदिएकाे तरूण खबरमा समाचार छ । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको झन्डै चार महिना बित्न लाग्दासमेत प्रहरीको सरुवा र बढुवा हुन सकेको छैन । जबकि निर्वाचन सकिएलगत्तै प्रहरीको सरुवा गर्ने आन्तरिक नीति नै हो । किनकि निर्वाचनका समयमा कतिपय प्रहरी अधिकृतहरूले आफू नजिक रहेका निश्चित व्यक्ति र पार्टीको पक्षमा कार्य गर्न सक्ने र विवादमा पर्ने गरेका कारण यो नीति अपनाएको हो ।
यसपटक पनि त्यो क्रमले निरन्तरता पायो । निर्वाचन सकिएपछि पनि उनीहरू सरुवा हुन सकेनन् । प्रधानमन्त्री ओली आईजीपी अर्यालसँग रुष्ट छन् । नवराज सिलवाल प्रकरणमा पदीय दुरुपयोगमा सामेल भएका कारण पनि ओली अर्यालसँग रुष्ट भएका हुन् । अर्यालको कार्यकालमा प्रहरीको सरुवा, बढुवा गर्ने पक्षमा प्रधानमन्त्री ओली नभएका कारण अर्यालले सरुवाको लिस्ट लिएर जाँदा गृहमन्त्री थापाले फर्काइदिएका हुन् । शुक्रबारबाट ६ दिन बिदामा बस्ने तयारी गरेका आईजीपी अर्याललाई एक्कासि गृह मन्त्रालयले बोलाएको थियो, त्यही मौकामा सरुवा सूची बोकेर उनी गृह पुगेका हुन् ।
लामो समयदेखि प्रहरीमा धेरै पदहरू रिक्त रहेका छन् ।
तलदेखि माथिसम्म धेरै पदहरू रिक्त हुँदा पनि बढुवा नभएका कारण प्रहरीमा नैराश्यता त छाएकै छ, क्यारियर भएका अफिसरहरू बढुवा हुनबाट वञ्चित छन् । एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई छ, तर आईजीपी अर्यालले मन्त्री एवं प्रधानमन्त्रीको इच्छाबिना सरुवा गर्ने आँट गर्नसकेका छैनन् । कानुनले दिएको अधिकारसमेत प्रयोग गर्न नसकेको भन्दै संगठनभित्रै आईजीपी अर्यालको आलोचना हुन थालेको छ । अर्यालले आफू बिदामा बस्ने वा नबस्ने निर्णय अहिलेसम्म गर्न सकेका छैनन् । विगतमा आईजीपी अवकाब हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने प्रचलन थियो । पछिल्ला वर्षहरूमा बिदा बस्ने प्रचलन हटेको छ । अर्यालको जागिर अवधि केवल २४ दिनमात्रै बाँकी छ । उनी बिदा बसेको खण्डमा निमित्त आईजीपीको जिम्मा एआईजीमा पहिलो नम्बरमा रहेका बमबहादुर भण्डारीले पाउनेछन् । आईजीपी बिदा बसेर भण्डारी निमित्त भएको खण्डमा रोकिएको प्रहरीको सरुवा हुनेछ, प्रधानमन्त्री निकट स्रोतले बतायो ।





