अब प्रदेश १ मा बन्द हड्ताल हुँदैन : कानुनमन्त्री कार्की



दमक(झापा), ४ चैत

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशलाई बन्द हड्ताल मुक्त बनाउने बताएका छन्। शुक्रबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक समितिको प्रथम अधिवेशनमा उनले बारम्बारको बन्द हड्तालले उद्योगी, व्यवसायी तथा मजदुरहरू संकटमा पर्ने गरेकाले यसलाई अब रोकिने बताए।

‘कसका के माग छन्। विधिसम्मत् रूपमा पूरा गरिन्छ’,उनले भने, ‘तर अब बन्द र हड्ताल गरेर आर्थिक समृद्धिको यात्रा रोक्ने कार्य मान्य हुँदैन।’ कार्कीलाई गृहजिल्लाका मजदुरहरूले सम्मान समेत गरे। सोही कार्यक्रममा संगठनले प्रदान गर्दै आएको लक्ष्मण खड्का स्मृति पत्रकारीता पुरस्कार पत्रकार विष्णुप्रसाद पोखरेललाई प्रदान गरियो।

यस्तै, जीवन घतानी स्मृति साहसिक मजदुर सम्मानबाट नगेन्द्र धिमाल सम्मानित भए। कार्यक्रममा ट्राफिक व्यवस्थानमा सहयोग गर्ने इलाका ट्राफिक प्रहरी कार्यालय दमकका ट्राफिक जवान सन्तोष पाण्डेलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्