गर्मी बढ्न थालेपछि विद्यालय जाँदा केटाहरुले स्कर्ट लगाउन थाले…



एजेन्सी । स्कर्ट भन्ने बितिक्कै हामी केटीहरुले लगाउने पोशाक भन्ने बुझ्छौँ । तर यो पोशाक अब केटाहरुले पनि लगाउन थालिसकेका छन् । कुरा हो ब्रिटेनको । ब्रिटेनको डेवोनमा स्कुल प्रशासनले ३० केटाहरुलाई हाफ प्यान्ट लगाएर स्कुल जान नदिएपछि उनीहरु सबैले स्कर्ट लगाएर उक्त निर्णयको विरोध गरेका छन् । एक्सेटरको आइएससीए एकेडेमीका छात्रहरुले गर्मी बढेका कारण स्कुल ड्रेस परिवर्तन गर्न आग्रह गरिरहेका थिए तर प्रशासनले उनीहरुको कुरा सुन्नै नमानेकाले उनीहरुले त्यस्तो कदम उठाएका हुन् ।

विरोध प्रदर्शनमा भाग लिएका सबै छात्रहरुले भने, ‘हामीलाई हाफ प्यान्ट लगाउन दिइएन र हामी यस्तो गर्मीमा फुल प्यान्ट लगाएर बस्न सक्दैनौँ।’ उनीहरुका अनुसार स्कुलकी हेड टिचर एमी मिशेलले हाफ प्यान्ट स्कुलको युनिफर्म होइन भन्दै उनीहरुको माग अस्वीकार गरेकी थिइन् । त्यसपछि त्यहाँका सबै छात्रहरु मिलेर स्कर्ट लगाएर यस विरोध प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले यसरी स्कर्ट लगाएर विद्यालय आउन थालेपछि अहिले भने हेड टिचरले उनीहरुको माग पुरा गर्ने संकेत देखाएको उनीहरुले बताएका छन् । यसबारेमा हेड टिचरले भनिन् , ‘हामी मान्छौँ कि केही दिनदेखि गर्मी अत्याधिक बढेको छ र हामीले हाम्रा विद्यालयका सम्पूर्ण विद्यार्थी लगायत अन्य कर्मचारीहरुलाई सहज महसुस गराउन सक्दो प्रयास गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्