
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार योजना बनाएरै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लाग्ने बताएका छन् ।
राजधानीको भृकुटीमण्डपमा सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गर्ने विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्दै यो विषयमा छलफल गरिरहन आवश्यक नरहेको बताए ।
‘सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गर्छ, यसमा अब कुनै आशङ्का र डिबेट छैन । जहाँ डिबेट नै छैन यही छलफल कति वर्ष गर्नेरु’ उनले प्रश्न गरे ।
‘यो सरकार निर्ममताका साथ भ्रष्टाचारको विरुद्धमा छ,’ ओलीले भने, ‘यो सरकार भिजन र प्लानिङका पक्षमा छ। सरकार उत्पादन वृद्धि र रोजगारीका अवसर सिर्जनाका निम्ति हो ।’
‘रोजगारी भनेर मात्र हुँदैन, रोजगारी आकर्षक छैन भने मान्छे अर्कोतर्फ जम्प गर्छ। हामी आकर्षक रोजगारी सिर्जनाका पक्षमा छौँ,’ उनले भने ।
उनले अब थोत्रो तरिकाले काम नचल्ने भन्दै सरकार इ गभर्नेन्समा जाने बताए । ‘अब थोत्रो र पुरानो ढङ्गले काम चल्दैन, पुराना कागजका ढड्डा पल्टाउनेमा होइन, हामी इ गभर्नेन्समा जान्छौँ,’ उनले भने ।
‘एकै ठाउँबाट हजारौँ विद्यार्थी पढाउने इ एजुकेसन पनि सुरु गर्छौँ। शिक्षकका कारण पनि शिक्षाको गुणस्तरमा समस्या आएको छ, अब एकै शिक्षकले एक ठाउँमा बसेर हजारौं विद्यार्थी पढाउँछ,’ उनले भने, ‘हामी वाष्प इन्जिन होइन, मोर्डन टेक्नोलोजीको समयमा छौँ ।’
प्रधानमन्त्री ओलीले निकट भविष्यमै सरकारले नयाँ नारा ल्याउने बताए । उनले भने, ‘यस्तो देशमा कोहि भोकै पर्नुपर्दैन, कोही भोकै मर्नुपर्दैन । अब कोही भोकले मर्दैन, सरकारले जिम्मा लिन्छ । नेपाल भिखमङ्गाको देश होइन । अब कसैले भिख माग्दैन । काम गर्न सक्नेले काम गर्नुपर्छ, नसक्नेलाई सरकारले पाल्छ । हामी स्लोगन नै बनाएर निकट भविष्यमा घोषणा गर्दैछौं ।’
उनले पूर्वाधार पूरा नभएका र पूर्वशर्त पूरा नगरेको उद्योगको शिलन्यास आफूले नगर्ने पनि बताए । ‘प्रधानमन्त्रीले पूर्वाधार पूरा नभएका र पूर्वशर्त पूरा नगरेका उद्योगको शिलान्यास गर्दै हिँड्दैन । प्रधानमन्त्रीले शिलान्यास गरेपछि काम भएन भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘एउटै पुलको कतिपल्ट शिल्यान्यास भएको सुन्छु । एकचोटि त मलाई पनि शिलान्यास गर्ने कि भनेर प्रस्ताव पनि आएको थियो । मैले गिनिजबुकमा लेखाउन हो भनेर सोधेँ । यस्तो त हाजिरीजवाफमा मात्र काम लाग्छ ।’
उनले घटाएर ठेक्का लिने, समयमा काम नगर्ने अनि पैसा थपाउने विकृति औँल्याउँदै अबको सरकारले समय र गुणस्तरीयताका प्रश्नमा सम्झौता नगर्ने बताए ।





