रेणु दाहाललाई पदबाट राजिनामा दिन चेतावनी



चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने ‘नेकपाले चेतावनी दिएको छ ।

‘नेकपा’को जिल्ला जनपरिषद् जनसत्ता चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न दवाव दिएको हो । मेयर दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।

राजीनामा नदिए वर्गसंघर्षको निशानामा पर्ने ‘नेकपा’को चेतावनी छ । जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् ।

‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरूको तीव्रता बढीरहेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह छ’, पत्रमा भनिएको छ ।

‘नेकपा’ले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । यसै क्रममा ‘नेकपा’ले भरतपुरकी मेयर दाहाललाई पनि राजीनामा दिन दवाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्