असुरक्षित गर्भपतन हुन्छ खतरा



असुरक्षित गर्भपतन हुन्छ खतरानेपालमा गर्भपतन गैरकानुनी भएको बेला लुकीछिपी असुरक्षित गर्भपतन हुने गर्थियो । अनिच्छित गर्भलाई सुरक्षित रूपमा अस्पतालमा फाल्न सकिन्छ । अस्पताल बाहिर वा अन्यत्र गएर गराइएको गर्भपतन असुरक्षित तथा महँगो हुने गर्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट गराइने गर्भपतन ९८ प्रतिशत सुरक्षित हुन्छ ।

नेपालमा गर्भपतन गराउन सक्ने अवस्था निम्न छन्

– गर्भवतीले चाहेमा १२ हप्ता सम्मको गर्भलाई फाल्न सक्छन् ।

– बलात्कार वा हाडनाता करणीले रहेको गर्भ भए १८ हप्तासम्म फ्याक्न कानुनतः सकिन्छ ।

– आधिकारिक चिकित्सकको सिफारिसमा महिलाको ज्यान÷स्वास्थ्य खतरामा पर्ने भएमा वा विकलाङ्ग शिशुको जन्म हुने सम्भावना भएमा जुनसुकै अवधिको गर्भलाई पतन गराउन सकिन्छ ।

निम्न अवस्थामा गर्भपतन गरेमा सजाय हुन्छ

– गर्भवतीको इच्छा वा मञ्जुरीबिना डर त्रास देखाएर गर्भपतन गराउन पाइँदैन ।

– गर्भपतन गर्न कानुनले तोकेको अवधि र अवस्था बाहेक अन्य अवस्थामा ।

– भ्रुणको लिङ्ग पहिचान गरी लिङ्गको आधारमा ।

गर्भपतन

गर्भपतन भन्नाले भ्रुण समयभन्दा अगावै गर्भाशयबाट बाहिर निस्केको अवस्था हो । सामान्यतयाः २८ हप्ताभित्रमा गर्भ खेर गएमा वा तुहाइएमा गर्भपतन भएको ठानिन्छ ।

कुनै पनि बाहिरी बल वस्तुको प्रयोग नगरी आफै गर्भ खेर गएमा वा तुहिएमा त्यसलाई आफैं हुने गर्भपतन भनिन्छ । यसरी गर्भपतन भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउनुपर्छ । गर्भको भ्रुणलाई बाहिरी बाधा दिई गर्भ तुहाउनुलाई जानी जानी गरिएको कृत्रिम गर्भपतन भनिन्छ ।

सुरक्षित गर्भपतन

गर्भवतीको मञ्जुरीमा उनको शरीरलाई हानी नहुने गरी तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा अनुमति प्राप्त स्वास्थ्य संस्थामा गरिएको स्तरीय गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।

गर्भपतनका कारण

महिलाहरू थुप्रै कारणले गर्दा गर्भपतन गराउन बाध्य हुन्छन् । गर्भपतन रहर हैन, बाध्यता हो । बच्चा पुगिसकेको तर परिवार नियोजनका साधनबारे राम्रो जानकारी र उपलब्धता नहुँदा, साधनको प्रयोग नगर्दा, साधनको प्रयोगमा त्रुटि हुँदा र साधन असफल हुँदा अनिच्छित गर्भधारण हुन्छ । यस्ता दम्पति पारिवारिक बोझ थपिने हुनाले गर्भपतन गराउन बाध्य हुन्छन् । त्यसैगरी विभिन्न सामाजिक कारण जस्तै अविवाहित, विधवा र गैरवैवाहिक सम्बन्धबाट गर्भधारण भएमा गर्भपतन अपनाउने गरिन्छ । यी बाहेक बलात्कार वा हाडनाता करणीको कारणले गर्भवती भएमा र आमा तथा भ्रुणको स्वास्थ्य खतरामा पर्ने भए पनि गर्भपतन गराइन्छ ।

किन सुरक्षित गर्भपतन नै गराउनु पर्छ ?

– गर्भपतन पूर्णरूपमा नहुनु ।

– बढी रक्तश्राव हुनु ।

– पाठेघरमा संक्रमण हुनु ।

– पाठेघरमा प्वाल परी पेटभित्र चोट पर्नु ।

– बेहोस हुनु ।

– पाठेघरै फाल्नुपर्ने अवस्था आउनु ।

– मृत्यु हुनु ।

पछि हुनसक्ने जटितला

– तल्लो पेट र पाठेघर दुखिरहनु ।

– बा“झोपन हुन सक्नु ।

– पाठेघर नै निकाल्नुपर्ने हुनु ।

– डिम्ब बाहिनी नलीमा गर्भ रहनु ।

– धेरै समय बिरामी हुनाले आर्थिक अवस्था कमजोर हुनु ।

सुरक्षित गर्भपतन गरिसकेपछि ध्यान दिनुपर्ने कुरा के हो त ?

१. आराम : गर्ने गर्भपतन गरेको दिन पूर्णरूपले घरमै आराम गर्नुपर्छ ।

२. दुखेमा : हल्का दुखेमा सिटामोल वा ब्रुफिन खान सकिन्छ ।

३. परिवार नियोजन : गर्भपन गरेको १० दिनभित्रै फेरि गर्भवती हुने सम्भावना भएकोले यौन सम्पर्क गर्दा भरपर्दो परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ । गर्भपतन गरेको सात दिनसम्म सहवास गर्नु हुँदैन । सामान्यतया गर्भपतन गरेको एक महिनापछि महिनावारी हुन्छ ।

४. जचाउन जाने : धेरै रगत बगेमा, दस दिनसम्म पनि रगत बग्न कम नभएमा, तल्लो पेट कडासँग दुखेमा, ज्वरो आएमा वा ६ हप्तापछिसम्म पनि महिनावारी नभएमा चिकित्सकसँग जचाउनु पर्छ ।

असुरक्षित गर्भपतन रोकथाम गर्न के के कार्य गर्न सकिन्छ ?

– कानुनको प्रचारप्रसार गरी गर्भपतन सम्बन्धी व्यवस्थाबारे सबैलाई सचेत गराउने ।

– असुरक्षित गर्भपतनबाट हुन सक्ने खतराबारे मानिसको चेतना बढाउने ।

— गर्भपतनसम्बन्धी सेवा दिने स्वास्थ्यकर्मीलाई थप तालिम दिई उनीहरूको सीप बढाउने ।

– परिवार नियोजन सेवालाई प्रभावकारी बनाई अनिच्छित गर्भ रहने अवस्थालाई कम गराउने ।

प्रतिक्रिया दिनुहोस्