
यो शीर्षक सुन्दै अचम्म लाग्नसक्छ । तर, भारतको राजस्थानका दुई विवाहित महिलाबीच पहिला दोस्ती र फेरि माया प्रेम बसेको छ । र विवाह मण्डपमा सात फेरा लगाएर पति पत्नी पनि बनेका छन् ।
तर, ६ महिना नवित्दै यो सम्बन्ध विग्रिएको समाचार भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । यो सम्बन्धको खास कुरा त यो हो कि दुबै महिलाका पति अधिकांश समय बाहिर बस्छन् ।
२५ वर्षीया सानिया र २२ वर्षीया ममता राजस्थानको शिवदासपुरामा कोठा भाडामा लिएर अलग अलग घरमा बस्दथे । दुबैका पति कामका सिलसिलामा अधिकांश समय बाहिर रहन्थे । यसैबीच दुबै छिमेकी महिलाबीच दोस्ती बढ्यो र त्यो प्रेम सम्बन्धमा परिणत भयो । दुबैले यसैवर्ष जनवरीमा सात फेरा लगाएर विहे गरे । सानियाले ममतालाई मंगलसुत्र लगाइन् । यद्यपी विहेको जानकारी दुबै महिलाले आफ्ना पति र घरपरिवारलाई दिएनन् ।
विहेपछि ममता आफ्नो लागि सानियासँग पैसा लिन थालिन । पछि पैसाकै विषयलाई लिएर दुबैबीच विवाद भयो । सानिया जयपुरमा बस्न थालिन् । पत्नी बनेकी ममताले सानियाको फोन उठाउन छाडिन् । त्यसपछि ममताले सानियालाई आफ्नो घरमा बोलाएर दिनदिनै पैसा माग्न फोन गरेर तनाव दिएको भन्दै आफ्ना पिता र भाइबाट रामधुलाई गरिन् । त्यसपछि सानियाले ममताविरुद्ध कुटपीट र सम्पत्ति हडप्न खोजेको अभियोगमा प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीमा पुगेपछि यो घटना बाहिर आएको बताइएको छ ।
खास के हो लेस्बियन सम्बन्ध ?
महिलाप्रति आकर्षित हुने महिलालाई महिला समलिंगी अर्था्त ‘लेस्बियन’ भन्ने गरिन्छ । नेपालको कानुनले यस्तो खालको सम्बन्धलाई अप्राकृतिक नमानेपनि समाजले भने अप्राकृतिक नै मान्दै आएको छ ।
नेपालको हकमा कुरा गर्दा केहि वर्ष अगाडि राजधानीमा पहिलोपटक पत्रकार सम्मेलन गरेर ‘मितिनी नेपाल’ले उपत्यकाका १२ सय लेस्बियन महिलाहरु आफ्नो सम्पर्कमा आएको जानकारी दिएको थियो । जसमा शिक्षा, खेलकुद, फिल्म, संगीत, साहित्य आदि धेरै क्षेत्रका महिला रहेको ‘मितिनी नेपाल’ को दाबी थियो। खासमा सबै खुलेर आउनै चाहँदैनन् । किनभने आफू समलिंगी भएको कुरा खोलेपछि उनीहरूले घर–परिवार र समाजको अपहेलना सहनुपर्ने हुन्छ ।
अमेरिकी मनोरोग चिकित्सा संघ तथा विश्व स्वास्थ्य संगठनले पुष्टी गरेअनुसार समलिंगी यौनसम्बन्धलाई प्राकृतिक नै मानेको छ । तर कतिपयले यो कुरा मान्न अझै तयार छैनन् । खासगरि धार्मिक मान्यताअनुसार यो एउटा यस्तो अवस्था हो जुन प्राकृतिक नभई एउटा गम्भिर मानसिक समस्या हो ।
धार्मिक, सांस्कृतिक एवं जैविक आधारमा महिला र पुरुषबीच मात्र यौनिक र वैवाहिक सम्बन्ध हुनसक्छ भन्ने धर्मको धारणा छ । र, त्यहि अनुरुप नै हुँदै आएको छ ।





