पासाङ्गलाई नै उपराष्ट्रपतिमा दोहोर्याउने माओवादी निर्णय



काठमाडौं, २ चैत

उपराष्ट्रपतिमा नन्दबहादुर पुन पासाङ्गलाई माओवादीले दोहोर्याउने भएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पुनको समेत कार्यकाल दोहोरिने चर्चा चलेपनि माओवादीले औपचारिक निर्णय गरेको थिएन ।

बिहिबार अपरान्ह बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले उपराष्ट्रपति र राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको टुंगो लगाएको हो । राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीले प्रदेश २ बाट राष्ट्रिय सभामा निर्वाचित सांसद शशीकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरिरहेको वर्तमान सरकारमा थपिने मन्त्रिहरुको अन्तिम नामाअाेली माओवादीले टुंग्याएकाे छैन । माओवादीका तर्फबाट थपिने ४ मन्त्रिहरुमा वर्षमान पुन ‘अनन्त’, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, बिना मगर, अमनलाल मोदी, दुर्गा विक लगायतको चर्चा छ ।

प्रदेश १ र ४ बाट राज्यमन्त्री तथा अन्य प्रदेशबाट मन्त्रिहरु बन्ने संभावना रहेको माओवादीले जनाएको छ । सवै पक्षबाट समावेशी हुनेगरि अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिईएको पौडेलले समाचारदैनिक डटकमलाई जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्