चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु



ललितपुर, १ चैत

झण्डै चार वर्षसम्म अवरुद्ध चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु भएको छ ।

मापदण्डभन्दा घटाएर सडक बनाउने सहमति भएपछि निर्माणको काम अघि बढेको डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताउनुभयो । बाइस मिटरको मापदण्डका आधारमा सडक विस्तार गर्न खोज्दा स्थानीयवासीले विरोध गरेका थिए । पछि महानगरपालिकाले फुटपाथ बनाउने गरेर अहिले १७.२ मिटरको सडक निर्माण हुन लागेको छ  । पटक पटकको वार्तापछि क्षेत्रीय सडक कार्यालयमा सो सडक निर्माणको सहमति जुटेको हो । उहाँले भन्नुभयो, “त्यही सहमतिका आधारमा सडक निर्माण अघि बढेको हो ।”

आगामी फागुनसम्ममा सक्ने गरेर निर्माणको काम भइरहेको छ । कार्यालयले विसं २०७०/७१ मा सक्ने गरेर ठेक्का दिएको थियो । सडकको मापदण्डको विवादले गर्दा लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । उहाँ भन्नुहुन्छ, “ठेकेदारले काम गर्न चाहे पनि हामीले काम गर्ने वातावरण बनाउन सकेका थिएनौँ ।”  विस्तार हुन लागेका धेरै सडकमा कतै स्थानीयवासीको विरोधका कारण र कतै स्थानीय तहले तदारुकता नदेखाउँदा काम अवरुद्ध छ । (रासस)

प्रतिक्रिया दिनुहोस्