मोहन बगान र विमलको सम्झौता सहमतिमा अन्त्य



कोलकाता , १ चैत

नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्ति मगर र भारतीय क्लब मोहन बगानले आपसी समझदारीमा ३ महिनाको लागि गरिएको सम्झौता ४५ दिनमै टुंग्याएका छन् । विमल आज नेपाल आउँदै छन् ।

हाइटीका सोनी नर्डे घाईते भएपछि कोलकाता पुगेका विमलले सोचे अनुरुपको भूमिका प्राप्त गर्न सकेनन् । नेपालका गोलरक्षक किरण चेम्जोङ आबद्द मिनेर्भा पन्जाबले आइलिग उपाधि जित्दा मोहन बगान तेस्रो स्थानमा सिमित भएको थियो।

हाम्रोखेलकुद डट कमसँग कुरा गर्दै विमलले क्लबसँगको सम्झौता आपसी समझदारीमा टुंग्याएको जानकारी दिए । उनले भने,’ क्लबले मलाई मैले सोचे अनुरुपको पर्याप्त खेल समय दिइरहेको थिएन। मार्च ३ तारिखमा चर्चिल ब्रदर्स विरुद्धको खेलपछिनै क्लब र मैले आइलिग सकिएपछि सम्झौता टुंगाउने निर्णयमा पुग्यौ।’

फेब्रुअरी ३ मा सिलोङ लाजोङविरुद्ध डेब्यु गरेका विमलले आइलिग ६ खेलसम्म रहेको सम्झौताको क्रम पहिलो ३ खेलमा मात्र मैदान प्रवेश गर्न पाए । कुल ८२ मिनेट खेल्ने क्रममा विमलले गोकुलम केरलाविरुद्धको खेलमा एक गोलका लागि पास उपलब्ध गराएका थिए। सो खेल पश्चात विमलले मैदान प्रवेश गर्ने अवसर प्राप्त गरेनन् ।

नेपालले आगामी मार्च २७ तारिखमा एसियन कप छनोटको अन्तिम खेलमा यमनको सामना गर्दैछ । उक्त खेलका लागि विमल नेपाल आउनुपर्ने थियो । यसबाहेक आइलिगमा झैं आगामी महिना सुरु हुने सुपर कपमा एसियन कोटा नभएको कारण पनि क्लबले उनलाई छाड्न मानेको हो । क्लबले नयाँ खेलाडीको रुपमा डिफेन्डर भित्र्याउन खोजेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्