नेपाल भर्सेज पिएनजी : एकदिवसीय मान्यताका लागि नेपाललाई आज जित्नै पर्ने



काठमाडौँ । विश्वकप छनोटबाट बाहिरिएको नेपालले एकदिवसीय मान्यताका लागि आज पपुवा न्यूगिनी (पिएनजी) सँग खेल्दैछ ।

समूह ए को पाँचौं स्थानमा रहेको पीएनजी र समूह बी को चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि जिम्बाबेको हरारेस्थित हरारे स्पोर्टस क्लवको मैदानमा सुरु हुनेछ ।

यस खेलमा नेपाल विजयी भएमा मात्र नेपालले एक दिवसीय मान्यता पाउन नजिक पुग्ने छ ।

एकदिवसीय मान्यता पाउने बाटो :

१. पहिलो अवस्था नेपालले पिएनजीलाई हराउनै पर्ने हुन्छ । नेपालले पिएनजीलाई हराउन नसके नेपाल डिभिजन २ मा घटुवा हुन्छ र एकदिवसीय मान्यताको कुरा नै सकिन्छ ।
२. नेपालले पिएनजीलाई हराउने र अर्को खेलमा नेदरल्याण्डले हङकङलाई हराए नेपालले सिधै एकदिवसीय मान्यता पाउछ । किनकि नेदरल्याण्ड विश्व क्रिकेट लिगको च्याम्पियन भएकाले उनले एकदिवसीय मान्यता पाइसकेको छ ।
३. नेपालले पिएनजीलाई हराउने र अर्को खेलमा हङकङले नेदरल्याण्डलाई हराएमा नेपाल हङकङसँग खेल्नु पर्ने हुन्छ र त्यो खेलमा जित हासिल गर्ने टिमले एक दिवसीय मान्यता पाउछ ।

नेपाल र पिएनजीको इतिहास :

नेपाल र पपुवा न्यूगिनीबीच अहिलेसम्म तीनवटा मात्र एकदिवशीय खेल भएका छन् । जसमा नेपालले एउटा खेल पनि जित्न सकेको छेन ।

नेपाल र पिएनजी पहिलो पटक २००५ मा मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को छनोट चरणमा खेलेका थिए । जसमा नेपाल ७० रनले पराजित भएको थियो ।

त्यसपछि २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पिएनजीसँग २ विकेटले पराजित भएको थियो । यस्तै सोहि प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पिएनजीसँग ३ विकेटले पराजित भएको थियो ।

प्रमुख खेलाडी :

ओपनर टोनी उरा पिएनजीका प्रमुख ब्याट्सम्यान हुन् । उनले यस प्रतियोगितामा आयरल्याण्डविरुद्ध १५१ रनको पारी खेलेका थिए । साथै उनि यस प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाचौ स्थानमा रहेका छन । उनले अहिलेसम्म १९१ रन बनाएका छन् ।

नेपालका लागि कप्तान पारस खड्का नै प्रमुख ब्याट्सम्यान हुनेछन् । पछिल्लो खेलमा केबल ११ रन बनाए पनि पारसले यस प्रतियोगितामा दुइ अर्धशतक सहित कुल १८९ रन बनाएर धेरै रन बनाउनेको सुचिमा सातौ स्थानमा छन् । साथै नेपालका लागि पछिल्लो खेलमा ४८ रन नतआउट बनाएर नेपाललाई जित दिलाएका रोहित पौडेलको भूमिका पनि महत्वपूर्ण हुने छ । नेपालका लागि ओपनिंग जोडी अहिले पनि समस्या देखिएको छ ।

त्यस्तै बलिङतर्फ पिएनजीका नोरमन भनउआ प्रमुख बलर रहेका छन् जसले यस प्रतियोगित मा ४ खेलमा ८ विकेट लिएका छन् भने अर्का बलर अलेई नाओ रहेका छन् जसले यस प्रतियोगितामा ४ खेलमा ६ विकेट लिएका छन् ।

नेपालका लागि युवा लेग स्पिनर सन्दिप लामिछानेको प्रदर्शन निर्णायक हुन सक्छ । हङकङविरुद्ध उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका सन्दीपले प्रतियोगितामा ७ विकेट लिएका छन् । त्यस्तै नेपालका लागि बसन्त रेग्मीको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । टिमका अनुभवी खेलाडी रेग्मी जहिले पनि संकटमोचकको भूमिकामा देखिन्छन् । टिम संकटमा परेको बेला विकेट लिने र रन बनाउने खेलाडीको रुपमा रेग्मीको भूमिका हुने गर्दछ । त्यस्तै सोमपालको बलिङ र परेको बेलमा ब्याटिंगले पनि टिमलाई ठुलो मद्धत मिलिरहेको छ ।

समग्रमा विगतमा पिएनजीसँग पराजित भएको भएपनि दुवै टिमको प्रदर्शन यस प्रतियोगितामा समान देखिन्छ । प्रतिष्पर्धात्मक हुनसक्ने यस खेल दुवै टिमका लागि ‘गर या मर’ को खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्