लनटेनिसको उपाधि रोहितलाई



काठमाडौँ, ३० फागुन

‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि काठमाडौँका रोहित सुनुवारले जितेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा सुनुवारले काठमाडौँकै राजु श्रेष्ठलाई ६–४ र ६–३ अंकले पराजित गर्नुभयो ।

त्यस्तै ६५ वर्षमाथिको उमेर समूहको भेट्रान्स एकलतर्फको फाइनलमा काठमाडौँका ज्ञानेन्द्रमान ताम्राकारले काठमाडौँकै दीपक श्रेष्ठलाई ४–० र ४–२ अंकले पराजित गर्नुभयो । भेट्रान्सअन्तर्गत ५५ वर्षमाथि एकलतर्फको उपाधि मकवानपुरका कमल थापाले जित्नुभयो । उहाँले ललितपुरका कृष्णराज घलेलाई २–६, ६–२ र १०–८ अंकले पराजित गर्नुभयो ।

आजै सम्पन्न चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा एपिएफका दीपेश धामीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २१–१६ र २१– १६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । अर्को सेमिफाइनलमा आर्मीका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र न्यू–डाइमण्ड एकेडेमी विजयी भएका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौँलाई २५–९, २५–३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो । उक्त खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।

त्यस्तै न्यू–डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३ र २५–१० को सोझो सेटमा पराजित गर्यो । उक्त खेलमा न्यू–डाइमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्