
३० फागुन २०७४ काठमाडौँ ।
सोमबार भएको विमान दुर्घनाका बारेमा बुझ्न आएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरे । उनले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै आयोगको प्रतिवेदन आएपछि सत्यतथ्य बाहिर आउने बताए ।
बंगलादेशका मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरे । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए ।
फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो । घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री मंगलबार काठमाडौं आएका थिए ।





