विद्यादेवी भण्डारीको कदम भोजपुरको आम्बोटेदेखि शीत्तल निवाससम्म



काठमाडौं, ३० फागुन २०७४

हिजो मंगलबार राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारी भोजपुरको दुर्गम गाउँ साबिक मानेभन्ज्याङ गाविस–१ आम्बोटेमा तथा हालको रामप्रसाद राई गाउँपालिका वडा नं ५ मा  २०१८ साल असार ५ गते जन्मेकी हुन् ।

विकट जिल्लाको दुर्गम गाउँमा जन्मिए पनि उनि शिक्षित परिवारकी छोरी हुन् । बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेका तीन छोरा र दुई छोरी मध्ये विद्या जेठी छोरी हुन् ।

उनका बाबु रामबहादुर विरेन्द्र उच्च मावि कुलङका प्रधानाध्यापक थिए भने उनले स्नातक उर्तिण गरेका थिए । विद्या ९–१० बर्षको हुँदा उनको बुबाको निधन भएको थियो ।

प्राथमिक शिक्षा गाउँकै बेहेरेश्वर प्राविबाट लिएकी उनले स्नातकसम्मको अध्ययन पुरा गरेकी छिन् । यो प्राथामिक तहको विद्यालय उनकै हजुरबुबा तिलकबहादुर पाण्डेले स्थापना गरेका थिए, जो पञ्चायतकालमा प्रधानपञ्च थिए ।

प्रमाणपत्र तहसम्म भोजपुरमै अध्ययन गरेकी भण्डारीले स्नातक विराटनगरमा अध्ययन गरेकी थिईन् । विद्योदय हाइ स्कुल (हालको विद्योदय उच्च मावि) एसएलसी उर्तिण भण्डारीले प्रमाणपत्र तह भोजपुर बहुमुखी क्याम्पसबाट गरेकी हुन् ।

घरमा भण्डारी राजनीतिक वातावरणको माहोलबाटै हुर्किएकी हुन् । उनको परिवारका हजुरबुबादेखी काकासम्म गाउँका प्रधानपञ्च, जिल्ला पञ्चायतको सदस्य थिए, जसले भण्डारीलाई बाल्यकादेखी नै राजनीतिमा लाग्न प्रेरित गर्यो ।

तर एउटा गज्जबको संयोग चाँही के भने अधिकांश उनका परिवार कांग्रेससँग आबद्ध भए पनि उनि भने कम्युनिष्टसँग नजिक भईन ।

उनि पनि परिवारका सदस्य जस्तै कांग्रेसको राजनीति गरेको भए आज यो ठाउँमा आउँथिन् आउँदिनन्थिन्, त्यो भन्न सकिन्न तर कम्युनिष्ट पार्टीमा लागेकी उनले देशकै सर्वाच्च पदमा रहेर पुनः दोस्रो पटक राष्ट्रपति बन्ने अवसर पाएकी छिन् ।

धेरैले चर्चित दासढुंगा काण्डमा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी गुमाएपछि राजनीतिमा प्रवेश गरेको भनिएपनि विद्याको राजनीतिक यात्रा ०३५/३६ बाटै सुरु गरेकी थिईन् ।

तर दासढुंगा काण्डबाट भने उनी राष्ट्रिय राजनीतिमा चर्चामा आएकी हुन् भने यही काण्डबाट सक्रिय राजनीति पनि थालनी गरेकी हुन् ।

सक्रिय राजनीति सुरु गरे लगत्तै उनले २०५० माघमा भएको उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई र २०५१ मा भएको मध्यावधि निर्वाचनमा पूर्व सभामुख दमननाथ ढुंगानाजस्ता हस्तीलाई पराजित गरेकी थिईन् ।

उनी २०५६ मा भएको प्रतिनिधि सभामा समेत काठमाडौ क्षेत्र नं २ बाट निर्वाचित भईन । २०६४ साल चैत्र २८ गते सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा पाराजित भण्डारी २०७० मंसीर ४ गते भएको दोस्रो संविधानसभाबाट समानुपातिक सभासद बनेकी थिईन् ।

२०३९ सालमा मदन भण्डारीसँग विबाह गरेकी उनका दुई छोरीहरु छन् । भोजपुरको मानेभज्याङ्ग गाविसमा जन्मेर हुर्केकी भण्डारीको अहिले गाउँमा परिवारका सदस्य छैनन् ।

गाउँको जग्गा बेचविखन गरेर मोरङको बाहुनी गाविस झरेका उनका भाइहरु अमेरिका छन् ।गाउँघरको दुख कष्ट देख्दा विद्यालाई पीडा हुन्थ्यो । गाउँघरमा दुख कष्टमा परेका मानिसहरुलाई कसरी सहयोग गर्न सकिएला भन्ने भावना उनको मनमा पैदा हुन्थ्यो ।

विद्योदय हाइ स्कुलमा पढ्नलाई सदरमुकाममा बस्न थालेपछि विद्याको नयाँ मानिसहरुसँग संगत हुन थाल्यो । त्यहीबाट उनि राजनीतिमा लाग्न थालेकी हुन् ।

जतिबेला देशमा पञ्चायती ब्यवस्था थियो । गाउँमा एउटा पनि हाइस्कूल छैन, अस्पताल छैन, अनिकाल चलेको छ, मान्छेहरु भोक भोकै मरेको देखेकी विद्याको मनमा यो सब पञ्चायती ब्यवस्थाले गर्दा हो भन्ने लागेको थियो ।

घरका अधिकांशले कांग्रेसी राजनीति गरेको देखेकी विद्या वामपन्थीहरूको समर्थन गर्न थालिन् । र, कम्युनिष्ट राजनीतिमा सक्रिय भईन् ।

५० को दशकबाट सक्रिय राजनीतिमा लागेकी उनले त्यसपछि लगभग कहिल्यै पछाडी फर्कनु परेन ।

भोजपुर आफैंमा विकट त्यसमाथि अभावग्रस्त त्यो मानेभन्ज्याङ्गमा जन्मेकी छोरीले देशको प्रमुख पार्टीका एक जना बाबु समानका पुराना हस्ती कांग्रेसका कुलबहादुर गुरुङलाई २०७२ कार्तिक ११ गते पराजित गर्दे गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्दै शितलनिवासको यात्रा तय गरेकी थिईन ।

त्यस्तै आज दिदी समानकी कुमारीलक्ष्मी राईलाई पराजित गर्दे पुनः सितल निवासको पाँच बर्षे बसाइँ सुनिश्चित गरेकी छिन् ।

राजनीतिक यात्रा

भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित हुँदै राजनीतिक यात्रा सुरु गरेकी भण्डारीले २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी बनेकी थिईन् ।

२०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त उनले २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य बनिन् ।

२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोषाध्यक्षमा समेत भण्डारी निर्वाचित बनेकी थिईन् । २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित उनि हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष थिईन् ।

२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी २०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा भएकी थिईन् ।

२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा उनि २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

माधव नेपाल नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेकी उनि २०७२ कार्तिक ११ गते बुधबार देशकै सर्वाच्च पद राष्ट्रपतिमा निर्वाचित भएर भण्डारी नेपालको दोस्रो राष्ट्रपति मात्र बनिनन् नेपालको प्रथम महिला राष्ट्रपति बन्ने इतिहास रचिन् ।

त्यस्तै आज पुनः राष्ट्रपतिमा निर्वाचित भएसँगै भण्डारी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको पदमा बस्न सफल भएकी छिन् । -देशको न्युज

प्रतिक्रिया दिनुहोस्