विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पुन: राष्ट्रपतिमा निर्वाचित



काठमाडौं २९ फागुन २०७४

वाम गठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

मंगलवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजीत गर्दै भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भण्डारीले ३९ हजार २७५ र रार्इले ११ हजार ७३० मतभार प्राप्त गरेको एमाले सांसद रवीन्द्र अधिकारीले जानकारी दिए ।

राष्ट्रपति चयनका लागि मंगलवार भएको निर्वाचनमा संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५ सय ३६ गरी ८ सय ६२ जनाले मतदान गरेका थिए ।

स्वतन्त्र सांसद डा. बाबुराम भट्टराई सहित प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १३ सांसद मतदानमा अनुपस्थित थिए ।

भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले मतदान गरेका थिए ।

भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्