सभामुख महरालाई चीनको महत्वपूर्ण सुझाब



काठमाडौँ, २९ फागुन २०७४

सभामुख कृष्णबहादुर महरालाई चाइना नेश्नल पिपुल काँग्रेसका स्थायी समितिका अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत हुनुभएकामा बधाई व्यक्त गर्नुभएको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिए ।

चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभामुख महरालाई शिष्टाचार भेट गरी स्थायी समितिका अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गरेकी थिइन् । सो भेटमा उनीहरुबीच नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । भेटमा दुई देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा सभामुख महरा र राजदूत युबीच दुई देशबीचको संसदीय अनुभवलाई आदानप्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो । राजदूत युले प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकामा महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् । – रातोपाटी

प्रतिक्रिया दिनुहोस्