झिनो सम्भावनाबीच आज हङकङसँग भिड्दै नेपाल



काठमाडौं : जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। समूहगत चरणका अघिल्ला तीन खेलमा लगातार हार खेपेको नेपालसँग सुपर सिक्स चरणमा पुगेर अन्तिम चरणको विश्वकप छनोटमा स्थान पक्का गर्न हङकङलाई ठूलो अन्तरले हराउनुको विकल्प छैन। हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ।

समूहगत चरणको तेस्रो खेलमा शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने लक्ष्य कठिन बनेको थियो। यद्यपि अगाडि बढ्ने झिनो गणितीय सम्भावना बोकेको नेपालका लागि हङकङविरुद्धको खेल गर या मरको अवस्थामा छ। नेपाल समूहको पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग चार विकेटले हारेको थियो।

समह ‘बी’ मा रहेको नेपालले हालसम्म कुनै पनि अंक जोड्न सकेको छैन। यो समूहबाट स्कटल्यान्ड (६ अंक) र जिम्बावे (६ अंक) भने लगातार तीन/तीन खेल जित्दै सुपर सिक्स चरणमा पुगिसकेका छन्। एउटा समूहबाट तीनवटा टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाल र हङकङकबीचको खेलले समूह ‘बी’ बाट अगाडि बढ्ने तेस्रो टोलीको टुंगो लगाउनेछ। समूहमा चारवटै खेल सकेको अफगानिस्तानको दुई अंक छ। एक खेल खेल्न बाँकी हङकङको पनि दुई अंक छ। रन रेटमा भने हङकङभन्दा अफगानिस्तान अगाडि छ।

हङकङविरुद्घको खेल नेपालका लागि दुई अर्थमा महत्वपूर्ण छ। पहिलो, उक्त खेलमा विजयी हुँदै रन रेटमा अफगानिस्तानलाई पछि पार्न सके नेपाल जारी छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्नेछ। सुपर सिक्स चरणमा पुग्न नेपाललाई फराकिलो अन्तरको जित आवश्यक पर्छ। हङकङलाई हराए पनि अफगानिस्तानसँग रन रेटमा पछाडि परे अफगानिस्तान नै सुपर सिक्स चरणमा पुग्नेछ।

दोस्रो दोस्रो, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउन पनि उक्त खेल महत्वपूर्ण छ। हङकङलाई हराए पनि रन रेटमा अफगानिस्तानसँग पछाडि परे नेपालले एकदिवसीय टोलीको मान्यता पाउन प्ले अफ खेल्नु पर्नेछ। हाल विश्वकप छनोट खेलिरहेका १० राष्ट्रमध्ये वेस्ट इन्डिज, आयोजक जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड आईसीसीका पूर्णकालीन सदस्य हुन्। नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेकाले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाएको छ।

बाँकी रहेका पाँच टोली नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), पपुवा न्युगिनी, स्कटल्यान्ड र हङकङमध्ये तीनवटा टोलीले आईसीसीबाट एकदिवसीय मान्यता पाउनेछन्। यी पाँच राष्ट्रमध्ये स्कटल्यान्डले समूह ‘बी’ बाट यसअघि नै सुपर सिक्समा स्थान बनाउँदै एकदिवसीय मान्यता पक्का गरिसकेको छ। सोमबार हङकङले नेपाललाई हरायो भने सुपर सिक्स चरणमा पुग्दै एकदिवसीय मान्यता पनि पाउनेछ। तर, नेपालले हङकङलाई हराए पनि रन रेटमा पछाडि परे अफगानिस्तान सुपर सिक्समा पुग्नेछ र त्यसपछि एकदिवसीय मान्यता पाउने थप टोलीको टुंगो समूह ‘ए’ कोे नतिजा र प्ले अफ खेलबाट लाग्नेछ।

एकदिवसीय मान्यताका लागि समूह ‘ए’ को नतिजाले पनि भूमिका निर्वाह गर्नेछ। समूह ‘ए’ बाट हालसम्म वेस्ट इन्डिजमात्र सुपर सिक्समा पुगेको छ। आयरल्यान्ड र यूएईको समान चार/चार अंक छ। पपुवा न्युगिनी भने चारवटै खेलमा पराजित भएको छ। समूह ‘ए’ मा सोमबार नै यूएई र आयरल्यान्ड तथा नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीच खेल हुँदैछ। यदि नेदरल्यान्ड्स पराजित भए यूएई सुपर सिक्समा पुग्नेछ र एकदिवसीय टोलीको मान्यता पनि पाउनेछ। आयरल्यान्डलाई पराजित गरे पनि यूएईले सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता पाउनेछ। त्यसपछि नेपाल, हङकङ र पपुवा न्युगिनीमध्ये एक राष्ट्रले एकदिवसीय मान्यताका लागि प्ले अफ खेल्नु पर्नेछ।

सोमबारका खेल

नेपालविरुद्घ हङकङ

जिम्बावेविरुद्घ स्कटल्यान्ड

आयरल्यान्डविरुद्घ यूएई

नेदरल्यान्ड्सविरुद्घ वेस्ट इन्डिज

प्रतिक्रिया दिनुहोस्