आर्थिक सुशासन समृद्धिको बाटो



काठमाडौँ, २७ फागुन

आर्थिक सुशासन कायम गर्दै लगानीमैत्री वातावरण र वित्तीय क्षेत्रको नियमनबाट मुलुकको आर्र्थिक विकासले गति लिने अर्थविद्हरुको तर्क रहेको छ ।

मिडिया इन्टरनेशनलको पाँचौँ वर्ष स्थापना दिवसको सन्दर्भमा आज राजधानीमा आयोजित  ‘समृद्धिको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले आर्थिक सुशासन र भ्रष्टाचारलाई निर्मूल गर्न सकियो भने मुलुकमा आर्थिक संकट नपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले पत्रकारले राजनीति मुद्दाको विकल्पमा आर्थिक मुद्दालाई बहसको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा लगानीको प्रचूर सम्भावना भएपनि दृढ इच्छाशक्ति, कामप्रतिको प्रतिबद्धता कमजोर भएका कारण युवा जमात विदेश पलायन भएको जानकारी दिनुभयो ।

उहाँले काम गर्न इच्छा शक्ति हुने हो भने पूँजीको अभावमा उद्यमशील व्यक्ति पछि पर्न नपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले सहकारी, निजी र सरकारी क्षेत्रको संयुक्त प्रयासबाट मुलुकको आर्थिक विकास हुने बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा आधुनिकीकरण, सुशासन र नियमनलाई प्राथमिक सूचीमा राख्दै कार्य अगाडि बढाएका खण्डमा मुलुकमा छिट्टै आर्थिक प्रगति हुने बताउनुभयो ।

मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले आर्थिक पत्रकारिता आजको आवश्यकता भएकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्