रोनाल्डोको निर्णायक गोल



मड्रिड– स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलप्रेरित रियाल मड्रिडले शनिबार एइबरलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगा दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंकदूरी ४ मा झारेको छ।

३४औं मिनेटमा रोनाल्डोले गरेको गोलमा रियालले अग्रता लिएको थियो । रोनाल्डोले लुका मोडरिचको पासलाई पोस्टको दिशा दिएका थिए ।तर मध्यान्तरपछिको पाँच मिनेटपछि नै इभान रामिसले पेड्रे लियोनको पासमा गरेको गोलमा एइबर खेलमा फर्किएको थियो ।खेल सकिन ६ मिनेट बाकी हुँदा रोनाल्डोले गरेको गोल रियालको जितमा पर्याप्त बन्यो । रोनाल्डोले ड्यानियल कार्भाहलको पासलाई जाली चुमाएका थिए।

जारी सिजन उनको यो १८औं गोल हो । जारी सिजन रोनाल्डो स्पेनिस ला लिगामा सर्वाधक गोल गर्ने खेलाडीको सुचीमा तेस्रो स्थानमा छन् । उनीभन्दा अघि बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी २४ गोलका साथ पहिलो र २० गोलका साथ बार्सिलोनाकै लुइस स्वारेज दोस्र्रो स्थानमा छन् ।यसअघि खेलको दोस्रो मिनेटमा जोन जार्डानको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा एइबरले अग्रता लिने मौका गुमाएको थियो।

दोस्रो हाफमा खेलमा फर्किएको एइबरले एक मिनेटको अन्तरमा पाएका दुई सुनौला अवसर खेर फाल्दा फेरि एक पटक अग्रता लिनबाट चुक्यो ।७७औं मिनेटमा गोन्जालो एस्काल्न्टेको पासमा ताकासी युनेइले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो भने त्यसको एक मिनेट लगत्तै पेड्रे लियोनको पासमा पाउलो ओलिभियराले गरेको भली प्रहारमा रियालका गोलकिपर केलोर नाभास बाधक बने।

यस जितपछि २८ अंक जोडेको रियाल तेस्रो स्थानमा यथावत् छ । एक खेल कम खेलेको बार्सिलोना ६९ अंकका साथ पहिलो र ६१ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छन् । ५३ अंक जोडेको भ्यालेन्सिया चौथो स्थानमा छ । यता रियालसँगको हारपछि एइबर ३९ अंकका साथ आठौं स्थानमा छ ।‘हामीले गरेको दुई गम्भिर गल्तीलार्ई रियालले सदुपयोग गर्‍यो,’एइबरका गोलकिपर मार्को डिमिट्रोभिचले भने, ‘रियालजस्तो बलियो टोलीविरुद्ध गल्ती गुर्न भनेको सोझै उनीहरुलाई खेल जित्ने अवसर दिनु हो।

यसअघि शुक्रबार सम्पन्न खेलमा जिरोनाले डेपोर्टिभो ला कोरुनालाई २–० ले पराजित गरेको थियो।२१औं मिनेटमा क्रिस्टियन स्टुवानीले जिरोनाका लागि गोल खाता खोलेका थिए । बर्नाडोको हेडर विपक्षी गोलकिपरले रोक्दा रिबाउन्डमा प्राप्त बललाई स्टुवानीले पोस्टको दिशा दिएका थिए ।मध्यान्तरपछिको तेस्रो १२ मिनेटपछि एलेक्स ग्रानेलको पासमा ह्वापेले गरेको गोलमा जिरोनाले तीन अंंक पक्का गर्‍यो ।यस जितपछि २८ खेलमा ४३ अंक जोडेको जिरोना छैटौं स्थानमा र १९ अंक जोडेको डेपोर्टिभो १९ औं स्थानमा यथावत् छन्।

प्रतिक्रिया दिनुहोस्