विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्ने



काठमाडौँ, २५  फागुन

आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ ।

जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ : १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।

 

सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो ।

टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्