तिलोत्तमा गोल्डकप शुरु



बुटवल, २४ फागुन

रुपन्देहीमा आजदेखि शुरु भएको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत  आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही ११ ले सुदूरपश्चिम ११ लाई २–० गोल अन्तरले हराएको हो । रुपन्देहीले सातौं मिनेटमा नै निशान लिम्बूको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जीत सुनिश्चित गरे । शुक्रबार कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली पुलिस, एपिएफ क्लब र त्रिभुवन आर्मीसहित १० टोलीले प्रतिष्पर्धा गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो । विजेता टोलीले रु सात लाख ७७ हजार ७७७ सहित स्वर्ण पदक तथा उपविजेताले रु चार लाख ४४ हजार ४४४  पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी चैत ३ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको आज सांसदन छविलाल विकले उद्घाटन गर्दै लुम्बिनी क्षेत्रलाई खेलकुदको आकर्षणका रुपमा विकास गरिने बताउनुभयो । गोल्डकपका प्रमुख संरक्षक संस्था बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खेलकुदको विकाससँगै खेलाडीको व्यावसायिक विकासमा सबैको ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्