भुवन केसी फेरी विवादमा ?



काठमाडौं, २४ फागुन । अभिनेता भुवन केसी फेरि एकपटक विवादमा तानिएका छन् । नेपाली सिने क्षेत्रमा धेरे विवादमा आउनेमा भुवन पनि एक हुन् । यतिखेर भने उनी आफूलाई सिनेमा क्षेत्रमा स्थापित गराउने व्यक्तिसँग जोडिएका छन् । उनी हुन् निर्माता निर्देशक शम्भु प्रधान ।

भुवन केसीको पहिलो चलचित्र ‘जुनी’ हो । त्यसपछि उनले ‘कुसुमे रुमाल’ खेल । तर, उनलाई सोलो हिरोको रूपमा स्थापित गराउने चलचित्र हो ‘सम्झना’ । जसको निर्देशक थिए शम्भु प्रधान । र, नायिका थिइन् तृप्ति नाडकर । शम्भुकै सयपत्री फिल्मस् ब्यानरमा भुवनले ‘मायालु’ चलचित्र पनि खेले करिश्मा मानन्धरसँग ।

आज तिनै निर्देशक शम्भुले निर्देशन गरेको र आफैंले खेलेको ‘सम्झना’ को ‘उकालीमा अघि अघि…ओरालीमा पछि पछि’ बोलको गीत चोरी गरेको आरोपमा भुवन प्रहरी कार्यालय पुग्नु परेको छ । नेपालकै स्थापित कलाकार भएकाले प्रहरीले मुद्दा मिलाउन भित्रभित्रै छलफल चलाएको छ । शम्भु प्रधान जस्ता व्यक्तिले भुवनविरुद्ध प्रहरीमा उजुरी हाल्नु निकै गम्भीर कुरा भएको चलचित्रकर्मीहरू बताउँछन् ।
भुवनलाई अहिले विवादमा ल्याउने व्यक्ति भने गायक एवं संगीतकार अल्मोडा राना उप्रेती हुन् । उनले पुराना लोकगीतलाई रिमिक्स गर्दै धुन र लय सबै हुबहु चोरेका छन् । उनकै कारण ‘छक्का पञ्जा २’ चलचित्र युनिट विवादमा आएको थियो ।

भुवन अहिले झन्डै ६० वर्ष हाराहारीका भए । चलचित्र क्षेत्रमा लागेदेखि उनी कहिल्यै विवादबाट मुक्त भएनन् । दुईवटा श्रीमतीसँग बिहे गर्नु, सम्बन्ध विच्छेद हुनु, एक नायिकासँग अहिले ‘लिभिङ टुगेदर’ मा बस्नुले भुवन सधैं चर्चामा छन् ।

कुनै समय उनी आफूलाई एड्स लागेको भनेर चर्चामा आएका थिए । ‘सपना’ चलचित्र बनाउँदा आफ्नो बाबु मदनमोहन केसीसँग केटीको विषयमा झगडा परेको, ‘महादेवी’ चलचित्रको सुटिङमा करिश्मा मानन्धरसँग किस सिनले विवादमा परेको, ‘करोडपति’ चलचित्र बनाउँदा नायक शिव श्रेष्ठको घरको नम्बर सार्वजनिक गरिदिएको, ‘ड्रिम्स’ चलचित्र सुटिङमा जाँदा मुस्ताङको होटलको पैसा पूरै नदिएकोलगायतका कारण उनी विवादमा परेका थिए ।

‘कन्ट्रोभर्सी’ र भुवन केसीबीच समानता रहेको अधिकांश चलचित्रकर्मीहरू बताउँछन् । ‘जहाँ भुवन केसी त्यहाँ कन्ट्रोभर्सी’ भन्ने उखान नै चर्चित छ । ‘कृ’ चलचित्रमा जम्मा १० लाख हालेर बराबरी निर्माता बनेका भुवन केसीले अहिले एक नवनायिकाको पारिश्रमिक नदिएको रहस्य खुलेको छ । ‘कृ’ की नायिका अदिती बुढाथोकीले अहिलेसम्म पूरै पैसा नपाएको स्रोतले जनाएको छ । अनमोल केसी र अदिती बुढाथोकी अभिनित चलचित्र ‘कृ’ हलबाट उत्रिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्