
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कुरा सुनेर आक्रोशित बनेका एमाले नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए ।
अाजको नयाँ पत्रिकामा खबर छ-उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए । ‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो ।
खनालले आफुले राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । खनालको आक्रोश ओलीले खासै प्रतिक्रिया दिएनन्, बरु संसद् बैठकका लागि सबै नेता बानेश्वरतर्फ लागे । अन्तत अोली विद्यादेवी भण्डारीलार्इ राष्ट्रपतिको उम्मेद्वार बनाए । (अखबार दैनिक)