सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा



आयोजक टोली झापा–११ तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा झापाले भारतको सिक्कम युनाइटेडलाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेल अत्यन्तै प्रतिष्पर्धात्मक बन्यो । खेलको सुरुवातमा पाहुना टोली सिक्कम युनाइटेडलाई झापा–११ ले कमजोर आँकलन गरे पनि गोलको खाता भने सिक्कमले नै खोलेको थियो ।

खेलको १८औँ मिनेटमा मयाल दोक लेप्चाले पहिलो गोल गर्दै सिक्किमका लागि १–० को अग्रता दिलाए । कुनाल तामाङको हेड पासमा लेप्चाले जाली चुमाएका हुन् । झापाले त्यसको ६ मिनेटपछि मात्र बराबरी गोल फर्काउन सक्यो । खेलको २४औँ मिनेटमा खमिर गिल्सन कन्दङ्वाले शानदार गोल गर्दै झापालाई १–१ को बराबरीमा ल्याएका थिए । कर्ण लिम्बूको क्रसमा खमिरले साइक्लिङ गोल गरेका हुन् ।

खेलको ४२ औँ मिनेटमा झापाले उपहारस्वरुप एक गोल पाएको थियो । झापाका विश्वास श्रेष्ठको क्रस सिक्किमका खेलाडी जिग्मे दोर्जे भुटियाको खुट्टामा लागेर गोलमा परिणत भएपछि पहिलो हाफअघि झापा २–१ ले अगाडि रह्यो । दोस्रो हाफमा सिक्कमले गोल गर्न नसकेपछि झापा विजयी बनेको हो ।

दोस्रो हाफमा सिक्कम निकै आक्रमक देखियो । तर, गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा सिक्किम निराश बन्दै घर फर्किएको हो । दोस्रो हाफमा सिक्किमका लेन्डुप भुटिया निकै व्यस्त देखिन्थे । तर, उनका प्रहारहरु खेर गए ।

यसअघि खेलको १४औँ मिनेटमा झापाका भुषण सुब्बाको क्रसमा कर्ण लिम्बूको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । १५औँ मिनेटमा झापाका विश्वास श्रेष्ठको प्रहार फ्रेममा पर्न सकेन । २६औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्वाको प्रहार बाहिरियो । पहिलो हाफको इञ्ज्युरी समयमा झापाका विशाल राईको कडा प्रहारले सही दिशा लिन सकेन ।

दोस्रो हाफको १४औँ मिनेटमा झापाले अत्यन्तै सुन्दर मौका गुमाएको थियो । विश्वास श्रेष्ठको प्रहारलाई पुजन उपरकोटीले हेडमार्फत गोलको दिशा दिन सकेनन् । खेलको इञ्ज्युरी समयमा विश्वास श्रेष्ठकै क्रसमा खमिर गिल्सन कन्दङ्वा गोल गर्नबाट चुके । उनको प्रहार बारमा लागेर फर्कियो ।

खेलको म्यान अफ द म्याच झापाका विश्वास श्रेष्ठ घोषित भए । उनले ओली एण्ड एसोसिएट्सका तर्फबाट नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । १२ लाख ५१ हजार रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्