विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब बढ्यो



काठामाडौं: विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् ।

विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष सार्वजनिक गरिरहेको फोर्ब्सले सन् २०१८ मार्च ६ सम्मको सम्पत्ति विवरणका आधारमा सार्वजनिक गरेको सूचीका आधारमा चौधरीको सम्पत्ति २० अर्ब रुपैयाँ बढेको हो ।

सन् २०१७ र २०१८ को बीचको अवधिमा चौधरी ग्रुपका मालिकसमेत रहेका उनको सम्पत्ति गत वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब रुपैयाँ थियो । तर यो वर्ष मार्च ६ सम्ममा उनले आफ्नो सम्पत्ति बढाएर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५३ अर्ब रुपैयाँ पुर्‍याएका हुन् ।

चौधरीले सम्पत्ति त बढाएका छन् नै अर्कातिर विश्वका धनाढ्यको सूचीमा पनि दुई स्थान माथि उक्लिएका छन् । यो पटक फोर्ब्सले विश्वभरबाट २२२०८ जना डलर खर्बपतिको सूची सार्वजनिक गरेको हो । जसमा चौधरी १५६१औँ स्थानमा रहेका छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा थिए ।

यस पटक धनीहरुको सूचीमा विश्वभरबाट २५९ जनाले प्रवेश पाएका छन् । जसले विवाहको कपडादेखि लिएर बच्चाको खेलौना र विद्युतीय कारको ब्यापार गरेर यस सूचीमा परेका हुन् ।

फोर्ब्सका अनुसार चौधरीको आम्दानीको प्रमूख स्रोतका रुपमा नबिल बैंक, चौधरी ग्रुप अन्तर्गत देशदेखि विदेशसम्म रहेका उद्योग, रेस्टुरेन्ट र होटलहरु रहेको जानकारी दिएको छ।

फोर्ब्सका अनुसार चौधरीले पछिल्लो ६ वर्षयता आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाइसकेका छन्। सन् २०१३ मार्चसम्म चौधरीको कुल सम्पत्ति एक खर्ब थियो । त्यसपछि २०१४ मा १ खर्ब १० अर्ब पुग्यो भने सन् २०१५ मा १ खर्ब ३० अर्ब पुग्यो । त्यसपछि सन् २०१६ मा भने घटेर १ खर्ब १० अर्बमा सीमित भयो । गत वर्ष उनको सम्पत्ति १ खर्ब ३० अर्ब पुगेको थियो । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्