को बन्ला देशको तेस्रो राष्ट्रपति ?



काठमाडौँ: को बन्ला मुलुकको तेस्रो राष्ट्रपति ? यतिबेला यसै बिषय चर्चाको केन्द्रमा छ । वाम गठबन्धनले बहुमत ल्याएपछि राष्ट्रपति एमालेको भागमा परेको छ। र, देशको तेस्रो राष्ट्रपतिको दौडमा एमालेकै केही नेताहरु निस्किएका छन् ।

राष्ट्रपतिको दौडमा वर्तमा राष्ट्रपति विद्यादेवी भण्डारी नै पहिलो नम्बरमा छिन् । उनले आफ्नो कार्यकाल दोहोर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक स‌ंवाद र लन्च मिटिङ पनि आयोजना गरिसकेकी छन् ।

त्यसैगरी उनीसँगै एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यो दौडमा छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दाबेदारी गरेको समाचार सार्वजनिक भएको छ । एमाले स्थायी समिति सदस्य एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नाम पनि चर्चामा छ । तर पनि मुख्य दौडमा भने भण्डारी र खनाल नै छन् ।

लबिङमा खनाल र भण्डारी

मुलुकको तेस्रो राष्ट्रप्रमुखका लागि भण्डारी र खनालले व्यापक ‘लबिङ’ गरिरहेका छन् । बर्तमान राष्ट्रपति भण्डारीले सर्वप्रथम् वाम गठबन्धनको प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समक्ष दोहर्‍याउने इच्छा जाहेर गरेकी थिइन् । त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र दाहाल दुवैलाई बोलाएर राष्ट्रपतिमा दोहोर्‍याउन आग्रह गरेकी थिइन् ।

ओली भण्डारीलाई पुनः राष्ट्रपति बनाउने विषयमा पहिले देखि नै सकारात्मक थिए । दाहाल र ओली दुवैजना भण्डारीलाई दोहर्‍याउने पक्षमा भएपछि राष्ट्रपतिमा उनी दोहोरिने सम्भावना प्रबल छ ।

माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपतिमा समेत नन्दकिशोर पुनलाई दोहोर्‍याउने संकेत गरेको छ । ओली र दाहालबीच राष्ट्रपति र उपराष्ट्रपति दोहोर्‍याउने विषयमा सहमति भएको अवस्थामा एमाले भित्रै भण्डारीको विकल्पमा पूर्व अध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनालले समेत राष्ट्रपति हुने इच्छा जाहेर गरिरहेका छन् ।

झलनाथको पक्षमा वामदेव

उनले सार्वजनिक समारोहमै राष्ट्रपतिको लागि लबिङ गरिरहेका छन् । उनले अध्यक्ष ओली तथा अर्का नेता माधव नेपाल सक्षम आफुलाई राष्ट्रपति बनाउन आग्रह गरिसकेका छन् ।

२०७० सालमा खनालको पक्षमा राष्ट्रपति हुने प्रबल सम्भावना हुँदाहुँदै उनले अस्वीकार गरेपछि विद्यादेवी भण्डारीलाई बनाइएको थियो । खनाललाई राष्ट्रपति बनाउने ‘लबिङ’मा एमाले उपाध्यक्ष वामदेव गौतम पनि लागेका छन् ।

गौतमले पनि सार्वजनिक कार्यक्रममा नै खनाललाई राष्ट्रपति बनाउनु पर्ने वकालत गरिरहेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्री हुन नपाएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मीको कडा दाबेदारी आएपछि खनाल पक्षमा विभाजन देखिएको छ ।

स्थायी समितिले के गर्ला ?

एमालेले राष्ट्रपतिको उम्मेदवार छान्न मं‌गलबार अपरान्ह ४ बजे स्थायी समितिको बैठक डाकेको छ । स्थायी समितिको बैठकले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउला ? यो आमचासोको विषय बनेको छ ।

यस्तो छ समिकरण

स्थायी समितिमा वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ देखिएका छन् ।

त्यसैगरी स्थायी समिति सदस्यहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल र मुकुन्द न्यौपाने पनि भण्डारीको पक्षमा छन्

खनाल या शाक्यको पक्षमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई देखिएका छन् । त्यसैगरी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र किरण गुरुङ पनि खनालको पक्षमा छन् ।

स्थायी समितिमा मत विभाजन भएका कडा प्रतिस्पर्धा हुने देखिएको छ । भण्डारी पक्षधरले पुरा अवधि काम गर्न नपाएकाले दोहोर्‍याउन पर्ने बताइरहेका छन् । खनाल र अष्टलक्ष्मी पक्षधर एउटैलाई पटक पटक अवसर दिन नहुने बताउँदै आएका छन् । उनीहरुले भण्डारी राष्ट्रपति हुँदा समेत पार्टीमा गुट चलाएको आरोप लगाइरहेका छन् ।

राष्ट्रपतिको निर्वाचनका मतदाता को ?

राष्ट्रपति निर्वाचनको लागि प्रदेश सभा र संघीय सभाका संसद मतदाता हुने छन् । प्रदेश सभा र संघीय सभाको मतभार भने फरक फरक हुनेछ । प्रदेश सभाको मतभार ४८ र संघीय सभाको मतभार ७९ हुनेछ ।

प्रदेश सभामा ५५० सांसद छन् भने संघीय सभा अन्तर्गत प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाको ५९ गरी ३३४ सांसद छन् । राष्ट्र सभामा मनोनित तीनजनाको सपथ सर्वोच्च अदालतले रोकेकाले उनीहरुले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

राजपाका सांसद रेशम चौधरी कारागारमा छन् । सर्वोच्चले रोकेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल (राई)ले समेत मतदान गर्न पाउने छैनन् ।

एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेको वाम गठबन्धनको उम्मेदवार राष्ट्रपति हुने निश्चित छ । फागुन २९ गते राष्ट्रपतिको निर्वाचन तोकिएको छ । फागुन २३ गतेदेखिको राष्ट्रपति निर्वाचनको कार्यतालिका समेत प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्