मेसीको ६ सय गोल : बार्सिलोना र म्यानचेस्टर सिटी उपाधि यात्रातर्फ



एजेन्सी, २१ फागुन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधि यात्रा उन्मुख भएको छ । बार्साले आइतबार राति क्याम्प नाउमा भएको महत्वपूर्ण खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले निर्णायक गोल गरे । पहिलो हाफको २५ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । यो गोलसँगै मेस्सीले करियरको ६ सयौं गोल पुरा गरेका छन् । क्याम्प नाउमा एथ्लेटिकोमाथि बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले थप गोल गर्न सकेनन् ।

यो जितसँगै बार्सिलोनाले लिगमा आठ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिकोको ६१ अंक छ । लिगमा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक रहेको छ ।
यस्तै, इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले विजयी यात्रा कायम राखेको छ । लिगअन्तर्गत आइतबार राति चेल्सीलाई १–० ले हराउँदै सिटीले आफ्नो जितको यात्रा कायम राखेको हो । घरेलु मैदानमा चेल्सीमाथि जित निकाल्न सिटीको लागि बेर्नार्डो सिल्भाले निर्णय गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को संघर्षपूर्ण जित दिलाए ।

हारसँगै चेल्सीले सन् २००३ पछि पहिलोपटक सबैखाले प्रतियोगितामा लगातार चार अवे खेल गुमाएको हो । यो जितसँगै सिटीले लिगमा १८ अंकको अग्रता बनाएको छ । सिटीले २९ खेलबाट ७८ अंक जोडेको छ । लिगको दोस्रो स्थानको लिभरपुलको ६० अंक छ । पराजित चेल्सी ५३ अंक जोडेर लिगको पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्