आगामी वर्षसम्म १५ लाख नेपालीलाई नेपालमै रोजगारी सिर्जना : अर्थमन्त्री डा. युवराज खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष पाँच लाख र दोस्रो वर्ष १० लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने पनि बताए । उनले बैंक तथा वित्तीय संस्थामा भएको लगानीयोेग्य पुँजी अभावको समस्या समाधान गर्न केन्द्रीय बैंकसँग कुरा गर्ने बताएका छन् ।

बधाइ एवं शुभकामना दिन अर्थ मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग उनले यस्तो बताएका हुन् । महासंघको टोलीले लगानीयोग्य तरलता अभावबारे तत्काल निर्णय लिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । खतिवडाले लगानीयोग्य पुँजी अभावबारे आफू पूर्ण जानकार रहेको उल्लेख गरे ।

औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक विकास रहेको भन्दै उनले लगानी प्रवद्र्धनका लागि कानुनी तथा नीतिगत सुधारका लागि पनि सरकार पूर्णप्रतिबद्ध रहेको बताए ।

भेटमा महासंघ अध्यक्ष भवानी राणाले आर्थिक क्षेत्र बुझेको व्यक्ति अर्थमन्त्री भएको भन्दै त्यसले निजी क्षेत्रमा थप आशा जगाएको बताइन् । उनले स्वदेशी एवं विदेशी लगानी प्रोत्साहनसहित औद्योगिक वातावरण निर्माणका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।

उद्योगीहरुले बैंकहरुले नाफालाई मात्रै ध्यान दिएको भन्दै बैंकको चर्को ब्याजले थप समस्यामा पारेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्