गलत प्रचारको भ्रम अन्त्य गर्न टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थिति



१९ फागुन २०७४ काठमाडौँ ।

बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थितिबीच बुद्ध बचन वाचन कार्यक्रम आज परिवर्तन खबरबाट लाइभ प्रसारण हुँदैछ ।

सन् २०१४ मा भारतमा ४६ हजार ६६० जनाको सहभागिताबीच रेकर्ड कायम गरेको थियो । नयाँ विश्व कीर्तिमानी कायम गर्नका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । रेकर्ड कायम गर्नका लागि ७५ हजार जनाले बुद्धको उपदेश ‘धम्मपद’ एकसाथ वाचन गर्नेछन् । 

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख संरक्षकको रुपमा रहने कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्र बहामदुर चन्द, खिलराज रेग्मीलगायत संरक्षकको रुपमा रहेनेछन् । त्यस्तै कलाकार, लेखक, पत्रकार, बुद्धिजिवीहरु सदभावना दूतको रुपमा रहनेछन् ।

कार्यक्रममा भाग लिन निशुल्क क्यूआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको छ । उक्त पास कुन गेटमा कुन समयमा जाने भन्ने उल्लेख गरिएको छ । सहभागीहरु कार्यक्रमभित्र प्रवेश गरिसकेपछि कार्यक्रम नसकिएसम्म आपतकालिन अवस्थाबाहेक बाहिर जान नपाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा गायक धिरज राई, आनन्द कार्की, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल, कलाकारहरु राधिका हमाल, प्रकाश तिमिल्सिना, नेपाल आइडल बुद्ध लामासहित निशान भट्टराई, प्रताप दासलगायतबाट सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति गर्नुका साथै राजेश हमाल, निखिल उप्रेती, डा. भोला रिजाल, महेश दाहाल, रवि लामिछाने, दिपक विष्ट, इन्दिरा राणा, मेघा चौधरीलगायतको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्