
१९ फागुन २०७४, गुल्मी
गीतकार बासुदेव पोखरेल पछिल्लो समयमा संघर्षरत गीतकार हुन् । नेपाली लोकसंगीतमा आफ्नो छुट्टै स्थान बनाउनको लागी उनी दिनरात संघर्ष गरीरहेका छन् । पछिल्ला समय उनले सिर्जना गरेका लोकसंगीतले चर्चा पाउन थालेका छन् ।
२०५३ साल साउनको २५ गते गुल्मीको धुर्कोट गाउँपालीका ४ आमा सिता पोखरेल र बुबा पिताम्बर पोखरेलको कान्छो सन्तानको रुपमा जन्मिएका नवगीतकार बासुदेव पोखरेल सानैदेखि गीतसंगीतको सौखिन थिए । बनमा घाँसदाउरा गर्दा होस् वा गाइवस्तु चराउँदा जती बेलापनि उनी गीत गुनगुनाइरहन्थे ।
गाउँमा मेलापर्व भयो कुनै कार्यक्रम भयो भने उनी अघि सरिहाल्थे । जानी–नजानी गीत गाउँथे । रेडियोमा आउने गीतहरु सुन्थे र आफुले पनि गुनगुनाउँथे । उनलाई लाग्थ्यो, मेरा गीतपनि यसैगरी रेडियो टिभीमा बजिदिए कस्तो होला । आफ्ना गीत रेडियो टिभीमा बजाउने चाहानाले उनी हिँडे आफ्नो अञ्चल सदरमुकाम बुटबल तीर ।
त्यहाँ सुरुमा उनले एउटा सानोतीनो जागीर गर्न लागे । गीतसंगीतमा असाध्यै रुची भएकाले त्यसतर्फका व्यक्तिहरुको संगत पनि हुँदै जान लाग्यो । यसैक्रममा उनको आफ्नै गाउँको साथी बिष्णु बिसी र प्युठानकी निसा पुनसँग सहयात्रामा काम गर्ने विचार गरे । आफुले काम गरेको पैसा जम्मा गरेरसंयुक्त रुपमा गीत निकालेका थिए । आफ्नै शब्द संगीतमा २०७२ सालको अन्तिममा उनले आफ्नो पहिलो लोकदोहोरी एलबमको रुपमा बजारमा ल्याएका थिए, ‘झुटो मायामा पर्यारैछु सानु’ ।
त्यहिबाटै गीतकार बासुदेव पोखरेलको सांगीतीक जीवनको सुरु भएको थियो । पहिलो गीत गर्दाको अनुभव साट्दै उनी भन्छन्, ‘साहृै दुख गरेर जेनतेन एउटा गीत बनाएँ ।’ हुनत आफुले कमाएको पैसाले कोठाभारा तिर्नैपर्यो, खाना खानैपर्यो । त्यसैमाथी जोगाएर राखेको पैसाले उनले पहिलो गीत निकाले ।
पहिलो गीतको सफलताले नै होला, त्यसपछिका गीतमा भने उनलाई आफैले लगानी गर्नु परेन । अन्य अवसरहरु पनि आउँदै गए । पहिलो गीतले नै उनलाई आफ्ना साथीहरुमाझ अनी गाँउघरतीर चिनाएको थियो । संगीतकर्मीसँग घुलमिल पनि हुँदै गए ।
यसै सिलसिलामा पहिलो गीतको सफलता सँगै २०७३ सालमा दोस्रो गीत ‘आफ्नो मनलाई आफैले सम्हालन सानु’ गीत उनको सिर्जनामा बजारमा आयो । जुन गीतमा अरुण लामिछाने र तुलसी घर्तीको थियो भने लय सजिना लामिछानेको थियो । शब्द भने उनी आफैले लेखेका थिए । जुन गीतले उनको सफलतामा इटा थप्ने काम गर्यो ।
त्यसपछि उनलाई बुटबलमा बसेर योगदान दिन गाहृो पर्यो । अनी लागे सपनाको सहर काठमाडौतीर । काठमाडौमै बसेर उनी संघर्ष गर्न थाले । आफुले कमाएको पैसा गीतसंगीतमै खर्च गर्न लागे । आफ्नो रेकर्डिङ नभएतापनि सधैजसो स्टुडियो धाइरहने, संगीतकर्मीसँग कुराकानी गर्ने गर्न थाले । उनी प्रायजसो संगीतप्रति रुचि भएका मानिससँग सांगीतिक कुरा गर्न रुचाउँछन् । मानिसहरुसँग गीत संगीतका कुरा गर्दा आनन्द आउने उनी बताउँछन् ।
आफु निरन्तर सांगीतिक क्षेत्रमा खटिरहँदा आफ्नो समय संगीतलाई नै समपर्ण गर्दै गर्दा उनले एकपछि अर्को गीत बनाउँदै गए । चर्चा पनि कमाउँदै गए । कत्ति साथीहरुले उनलाई भने यो गीतमा लागेर केहि हुँदैन । बरु बिदेश गए थुप्रो पैसा कमाइन्छ । उनलाई अन्य विविध क्षेत्रमा ठुलो अवसर पनि नआएको हैन । तर उनी त्यतापट्टि लागेनन् । कसैको कुरा सुनेनन् । पैसालाई ठुलो देखेनन्, उनमा संगीतको तिर्खा न थियो । त्यहि संगीतको तिर्खा मेटाउनतीरै उनी लागीपरिरहे ।
सबैभन्दा ठुलोकुरो भनेकै इच्छाशक्ति हो । त्यहि इच्छाशक्तिको कारण नै उनी अगाडी बढ्दै गए । उनी दामको भोको नभएर नामको भोका थिए । त्यहि नामको भोक मेटाउन तीर नै उनको पाइला अगाडी बढ्दै गयो ।
भनिन्छ, मानिसको इच्छा चाहाना धेरै हुन्छन् । सुरुमा आफुले गीत बनाउने चाहाना थियो गीत बनाए । रेडियो टिभीमा आफ्ना गीत घन्काउने चाहाना थियो उनले घन्काए । तर उनको संगीतको र नामको तिर्खा र भोक झन् बढ्दै गयो । यसतर्फ संघर्ष गर्दै गए ।
निरन्तर गीतसंगीतमा आफ्ना पाइला चाल्ने क्रममा उनले २०७३ मै तिज गीत ‘मादलुको तालैमा’ बजारमा ल्याए । त्यसँगै चर्चित गायिका देवि घर्ती र ओम बिसीको श्वरमा ‘संसारहेरी मन बुझाउन सानु’ निकाले । यस गीतले उनको लोकप्रियता अझै बढायो ।
उनले लगातार गीत बनाउँदै गए । संगीतमा भिज्दै गए । तर बिडम्बनाको कुरा उनले बनाएका कतीपय गीतमा त उनकै नामनै आएन । यो एउटा गीतकारको बाध्यता पनि हो । त्यति गरीएन भने गीतकारको घरमा चुल्हो बाल्नपनि गाहृो हुन्छ ।
उनका केहि गीतहरु बजारमा आउने क्रममा छन् । अब बजारमा आउन लागेका उनका गीतमध्ये करिब आधा दर्जन जती गीतहरु रेकर्ड भइसकेका छन् भने केहि गीतहरुको काम हुन बाँकी नै छ ।
उनी पछिल्लो समय फोहोरी बन्दै गइरहेको दोहोरीप्रती दुख व्यक्त गर्छन् । आफु लोकदोहोरीको लोकप्रियता बढाउनको लागी सदा तयार रहेको उनको भनाई छ । छाडा खालका, दुई अर्थ लाग्ने गीतहरु आफुले नबनाएको र अबका दिनको त्यस्ता गित नबनाउने बताउँछन् । आफुले मौलिक लोकदोहोरी गीत लोकका मर्म तथा भाव भएका गीतलाई मात्र प्राथमिकता दिने उनको भनाई छ ।